‘न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएँ’ : प्रधानन्यायाधीश जबरा

6.62K
shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन्। न्याय परिषद्का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह समेत गरे।

काठमाडौंमा आयोजित न्यायाधीश समाजको वार्षिक साधारणसभामा प्रधानन्यायाधीश जबराले उच्च अदालतमा न्याय परिषद्ले सम्मान गरेका न्यायाधीश ल्याउने वातावरण नभएको पनि बताए। ‘न्यायाधीशको अनुभव भएको, कानुन व्यवसायीको अनुभव भएको, हामीमध्येबाट नै बलजफ्ती गरेर पठाएको, डक्ट्रेड गरेको व्यक्तिलाई लिएर आउनु भनेको भेस्टे«ट इन्ट्रेस्ट छ,’ प्रधानन्यायाधीश जबराले भने, ‘तपाईहरू बीचमा रहेका राम्रा व्यक्तिहरूलाई ल्याउने परम्परा सुरु गर्न सकुँ भन्ने मेरो पवित्र लक्ष्य हो।’

प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई प्रतिप्रश्न गर्दै थपे, ‘आज मैले एउटा न्यायाधीशबाट बाहिर गएको व्यक्तिलाई स्थान दिँदा स्वीकार्य हुँदैन भने तपाईहरू बीचमा गएर, समुद्रको तल्लो फेदमा गएर, नियुक्त गरेर, लिएर आएँ भने तपाईहरू स्वीकार्नु हुन्छ ? मान्नुहुन्छ ? तपाईहरू बीचमा हीरा हुनुहुन्छ, तर त्यो हीरा टिप्ने प्रवृत्तिलाई किन निरुत्साहित गरिन्छ रु मैले बुझ्न सकिनँ।’

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका पाँचमध्ये एक अधिवक्ता मनोजकुमार शर्मा पिचएचडी होल्डर हुन्। उनी पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्। मनोजकुमार तत्कालीन पुनरावेदन अदालत बुटवलका ‘अतिरिक्त न्यायाधीश’ नियुक्त भएका थिए। संविधान आएसँगै अतिरिक्त न्यायाधीशको पद खारेज भए पछि उनी स्वतः हटेका थिए।

प्रधानन्यायाधीश जबराले ‘न्याय परिषद्ले पटकपटक सम्मान गरेका न्यायाधीशलाई आफूले चाहेर पनि उच्च अदालतमा ल्याउन नसकेको,’ गुनासो गरे। ‘उच्च अदालतका ६ जना न्यायाधीश नियुक्ति गर्दा अधिकतम मेहनत गर्ने र परिषद्ले सम्मान गरेको न्यायाधीशलाई ल्याउनसक्ने वातावरण छैन।

परिषद्बाट पटकपटक सम्मानित भएका छन्। खै आउन सके त ?’ उनले थपे, ‘यसको जिम्मेबारी के प्रधानन्यायाधीशलाई मात्र दिएर पुग्छ ? पुग्दैन रै’छ। यो गाह्रो छ।’ प्रधानन्यायाधीश जबरा न्यायाधीश समाजका संरक्षक समेत हुन्। उनले न्यायाधीशहरूको साथबिना आफू अघि बढ्नै नसक्ने पनि बताएका थिए।


divya collage
unigloble collage