काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी

8.62K
shares

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । संक्रमण दर उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनले कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति गरेका हुन् ।

‘संक्रमण दर नघटेपछि कम्तीमा एकसाता निषेधाज्ञा थप्ने हाम्रो अनौपचारिक छलफल भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नेपाल प्रेसलाई भने ।

जेठ ३१ गते बस्ने तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्दै नयाँ आदेशहरु जारी गर्ने सीडीओ पराजुलीले जानकारी दिए । खेतीपातीको मौसम भएकाले कृषिकर्मको काम तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने गरि अघि बढ्ने बारे छलफल भएको उनले जनाए ।

सार्वजनिक तथा निजी यातायातमा कायमै रहेको बन्द भने यथावतै रहने भएको छ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले पनि निषेधाज्ञा थप्नेबारे अनौपचारिक छलफल चलेको बताउँदै खेतीपाती र निर्माणको कामलाई खुकुलो बनाएर अघि बढ्न सकिने बताए ।

‘तत्कालै निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने परिस्थिती छैन किनभने संक्रमण दर उल्लेखनीय घटेको पनि छैन’ ललितपुर सीडीओ निरौलाले भने, ‘संक्रमणदर नघटेसम्म अहिलेको परिस्थितीलाई कायमै राख्नुपर्छ भन्ने कुरामा हामी सहमत छौं ।’

काठमाडौंको अवस्था कस्तो छ?
शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ११४० जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९२१, भक्तपुरमा ५६ र ललितपुरका १६३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं जिल्लामा सक्रिय संक्रमित १० हजार ५१ जना छन् । भक्तपुरमा २९४६ र ललितपुरमा ३९९४ जना सक्रिय संक्रमित छन् । पछिल्लो साता उपत्यकामा उल्लेखनीय ढंगले संक्रमित संख्या घटेको छैन ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित थपिएका छन् । ४६ जिल्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित छन् भने १५ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083