कांग्रेसको नयाँ नेतृत्व पहिलोपटक सानेपामा, आज केन्द्रीय समिति बैठक बस्दै
गगन थापा
वि.सं.२०८२ माघ ८ बिहीवार १३:३१
shares

८ माघ,काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमिति आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा उपस्थित हुने भएको छ। सभापति गगन थापाको नेतृत्वमा चयन भएको कार्यसमिति यसअघि होटलमै बैठक गर्दै आएको थियो।
महामन्त्री प्रदीप पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमै केन्द्रीय समिति बैठक बस्ने तय भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले धेरै नेताहरू काठमाडौं बाहिर रहेकाले आज उपलब्ध सदस्यहरू मात्रै बैठकमा सहभागी हुने जानकारी दिएका छन्।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। त्यसयता प्रतिनिधिसभा निर्वाचनको तयारीसँग सम्बन्धित महत्त्वपूर्ण बैठकहरू समेत पार्टी कार्यालय बाहिर नै बसेका थिए।
पार्टी स्रोतका अनुसार आजको बैठकले सभापति गगनकुमार थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ। यसअघि नेकपा एमालेले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार अघि सारिसकेका छन्।
कांग्रेसभित्र भने विशेष महाधिवेशनलाई लिएर विवाद कायमै छ। गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले विशेष महाधिवेशन आह्वान गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले असहमति जनाएको थियो। यद्यपि, देउवा समूहका नेताहरूले गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर निर्वाचनमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो, तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।
यसअघि देउवा पक्ष निकट केही केन्द्रीय सदस्य र तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा धर्ना दिएर कार्यालय कब्जा जस्तै स्थिति बनाएका थिए। हाल भने उनीहरूले कार्यालय छोडिसकेका छन्।
















