गोरखा–२ मा बाबुरामको तालमेल प्रयास असफल

1.3K
shares

९ माघ, काठमाडौं । गोरखा क्षेत्र नम्बर २ मा बाबुरामको चुनावी तालमेलको प्रयास सफल हुन सकेन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोही क्षेत्रका उम्मेदवार लेखनाथ न्यौपानेसँग सहकार्यको प्रस्ताव राखे पनि न्यौपानेले त्यसलाई अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार भट्टराईले काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी लेखनाथको उम्मेदवारी फिर्ता गराएर आफूलाई सहयोग गरिदिन आग्रह गरेका थिए । तर सो भेटघाटबारे प्रचण्डले सार्वजनिक रूपमा केही बताएका छैनन् ।

निर्वाचन क्षेत्रमा प्रचारमा व्यस्त रहेका लेखनाथ न्यौपानेले आफू अब कुनै हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् । उनले भने, “अहिले अभियान निकै अगाडि बढिसकेको छ । यस्तो अवस्थामा पछि हट्नु पार्टी र समर्थक दुवैका लागि घाटा हुन्छ ।”

न्यौपानेका अनुसार मनोनयन दर्ता हुनुअघि नै बाबुरामसँग छलफल भएको थियो । त्यसबेला आफूले सहयोग माग्दा बाबुरामले उम्मेदवारी अघि बढाउन सुझाएको दाबी उनको छ । “त्यही सहमतिमा म मैदानमा उत्रिएको हुँ, अब फिर्ता हुने प्रश्नै उठ्दैन,” उनले भने ।

गोरखा–२ मा यसपटक बाबुराम भट्टराई र लेखनाथ न्यौपानेसँगै कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका चक्रे मिलन र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी पनि प्रतिस्पर्धामा छन् ।

यसैबीच, बाबुराम पक्षधरहरूले उनलाई साझा उम्मेदवार बनाउने प्रयास जारी राखेका छन् । उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार विभिन्न दल र उम्मेदवारसँग संवाद भइरहेको भए पनि हालसम्म ठोस सहमति बन्न सकेको छैन ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो र त्यसपछि उम्मेदवारलाई चुनाव चिह्न वितरण गरिनेछ ।