अमेरिकासँग वार्ताका लागि इरान तयार, तर धम्की अस्वीकार्य : विदेशमन्त्री अराघची
वि.सं.२०८२ माघ १७ शनिवार १३:१९
shares

इरानले संयुक्त राज्य अमेरिकासँग निष्पक्ष र समान आधारमा वार्ता गर्न तयार रहेको जनाएको छ। तर, धम्कीको वातावरणमा कुनै पनि वार्ता सम्भव नहुने इरानको स्पष्ट अडान छ।
शुक्रबार टर्कीमा पत्रकारहरूसँग कुरा गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले भने, “इरानलाई वार्तामा कुनै आपत्ति छैन, तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।” उनले वार्ता आपसी सम्मान र समानताको आधारमा हुनुपर्नेमा जोड दिए।
अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइल कार्यक्रम भने वार्ताको विषय नै बन्न नसक्ने स्पष्ट पारे। “म स्पष्ट रूपमा भन्न चाहन्छु, इरानको क्षेप्यास्त्र क्षमता र मिसाइलहरू कुनै पनि वार्ताको विषय होइनन्,” उनले भने।
पछिल्लो समय तेहरान र वाशिङ्टनबीचको तनाव चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकारविरुद्ध भएका प्रदर्शनमाथि दमन गरिएको आरोप लगाउँदै इरानमाथि आक्रमण गर्ने धम्की पटक पटक दिँदै आएका छन्। साथै, उनले इरानको परमाणु कार्यक्रम रोक्नुपर्ने माग पनि अघि सारेका छन्।
तर इरानले ती आरोप र मागलाई निरन्तर अस्वीकार गर्दै आएको छ। इरान दबाबमा नझुकेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता ‘अब्राहम लिंकन’ नामक विमानवाहक युद्धपोत इरान नजिकको क्षेत्रमा पठाएका छन्, जसले क्षेत्रीय तनाव थप बढाएको छ।















