सांसदलाई वाचापत्र दोहोर्‍याएर पढ्न् स्वर्णिम वाग्लेको निर्देशन

1.64K
shares

३ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको मतलाई गम्भीर जिम्मेवारीका रूपमा लिन आग्रह गरेका छन्।

मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरूलाई पार्टीको वाचापत्र र नीतिगत धारणा पुनः अध्ययन गर्न निर्देशन दिए। “अब तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ, यो ‘ब्याक टू कलेज’ जस्तै हो, वाचापत्र दोहोर्‍याएर, तेहेर्‍याएर पढ्नुहोला,उनले भने।

वाग्लेले सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रणाली सुधारमा केन्द्रित हुन आग्रह गरे। उनले देशको अस्तव्यस्त अर्थ–राजनीतिक अवस्थालाई सम्हाल्ने जिम्मेवारी अहिलेका प्रतिनिधिहरूको काँधमा आएको उल्लेख गरे।

उनले भने, “हामी यहाँ व्यक्तिगत समस्या समाधान गर्न आएका होइनौं, प्रणाली बसाल्न आएका हौं, जनताले परिवर्तनको म्यान्डेट दिएर पठाउनुभएको छ, त्यसप्रति सजग हुनुपर्छ।”

उनले सांसदहरूको मुख्य भूमिका कानुन निर्माण रहेको स्पष्ट पार्दै सरकारको कामको प्रभावकारी अनुगमन गर्नुपर्ने बताए। “हामी विधायक हौं, कानुन बनाउने हाम्रो मूल काम हो, सरकारको कामको निगरानी गर्ने ‘वाचडग’को भूमिकामा पनि सक्रिय हुनुपर्छ”,उनले भने।

साथै, आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्या संसद्मा बलियो रूपमा उठाउन र विकास निर्माणप्रतिको जनताको अपेक्षालाई सम्बोधन गर्न उनले आग्रह गरे।

“विकास निर्माणमा जनताको ठूलो अपेक्षा छ, त्यसलाई समातेर अघि बढ्नुपर्छ,” वाग्लेले भने, “अब क्याच–अप गर्ने समय हो।”