रास्वपा सांसदलाई सेवक बन्न लामिछानेको निर्देशन

2.07K
shares

४ चैत, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइ नजिकको बहुमत प्राप्तिपछि आफ्नो राजनीतिक शैली शान्त, संयमित र जिम्मेवार बनाएको बताएका छन्।

ग्वार्कोमा आयोजित पार्टीका सांसदहरूको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले अब पार्टी र नेतृत्वप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै विश्वास निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

लामिछानेले सांसदहरूलाई “जनताको शासक होइन, सेवक बन्न” निर्देशन दिँदै सकेसम्म सरकारी अस्पतालमै उपचार लिन आग्रह गरे। उनले व्यक्तिगत जीवनको स्वतन्त्रता भन्दा सार्वजनिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने पनि बताए।

चुनावअघिको आक्रामक शैलीबाट बाहिरिँदै उनले सामाजिक सञ्जालमा देखिने उत्तेजना र विपक्षीमाथि हुने तुच्छ आक्रमण रोक्न पार्टी पंक्तिलाई स्पष्ट निर्देशन दिए। “हामीले आफ्नो व्यवहार र अभिव्यक्तिमा परिवर्तन ल्याउनुपर्छ,” उनले भने।

उनले कांग्रेस, एमाले र माओवादीको नाम नलिई विगतका योगदानको कदर गर्दै अबको जिम्मेवारी भने रास्वपाले लिनुपर्ने सन्देश दिए।

लामिछानेले पार्टीभित्र अनुशासनलाई कडाइका साथ लागू गरिने उल्लेख गर्दै “राइट टु रिकल” व्यवस्था कार्यान्वयनमा ल्याइने जानकारी पनि दिए। मन्त्री बन्ने दौडमा नलाग्न र स्वार्थ समूहबाट प्रभावित नहुन सांसदहरूलाई उनले सचेत गराए।

“जनताले ३५ वर्ष पर्खिए, तर हामीलाई ३५ दिन पनि पर्खिने छैनन्,” उनले भन्दै हरेक कदममा सावधानी अपनाउन आग्रह गरे।

उनले वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै कुनै शंका नराख्न आग्रह गरे।

यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन शाह कार्यक्रममा सहभागी भएनन्। पार्टीका अनुसार उनी स्वास्थ्यलाभमा छन्। तर सामाजिक सञ्जालमा सक्रिय देखिए पनि महत्वपूर्ण बैठकमा अनुपस्थित रहेको विषयले पार्टीभित्र चासो बढाएको छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083