चन्द्रागिरिमा ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान सुरु

डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम

चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् ।

चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई आगामी दिनमा कसरी सार्थक बनाउने र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको गुर्जुधारास्थित अन्तर्राष्ट्रिय भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिनुभयो ।

उहाँले नगरभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने अभियानलाई सहयोग गर्न नगरवासीलाई आग्रह गर्दै आफूले पनि सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी जो जहाँ छौँ, त्यहीँबाट सहयोगी मन लागौँ, असम्भव भन्ने केही छैन ।”

सो अवसरमा वडा नं १२ का अध्यक्ष श्रेष्ठले प्रस्तावित ५५ रोपनी जमीन उपयुक्त भएमा सहयोग गर्ने जानकारी दिनुभयो । राष्ट्रिय ट्रक यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले अस्पताल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रारम्भिक छलफलमा चन्द्रागिरि नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष सञ्जय सिग्देल, युवा व्यवसायी राजेश घिमिरे, माधव अधिकारी, राजन श्रेष्ठ, युवा समाजसेवी, भुवन गिरी, पेशल खतिवडा, सञ्चारकर्मी रोशन दानी, श्यामसुन्दर पुडासैनीलगायतको उपस्थिति थियो ।

डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी तालीम
भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरमै दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यले बझाङको बुङ्गल नगरपालिकामा एकहप्ते डकर्मी तालीम सम्पन्न भएको छ ।

युनाईटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक तथा प्राविधिक सहयोग र दलित सहयोग समाजको समन्वयमा बुङ्गल नगरपालिकाद्वारा आयोजित उक्त तालीममा वडा नं १ देखि ११ सम्मका ११ महिलासहित ५४ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

‘दरो घर, दिगो बस्ती’ भन्ने नाराका साथ डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालीम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । “हामीले घर निर्माण गर्ने डकर्मीलाई तालीम प्रदान गरी दक्ष बनाएका छौँ”, नगरपालिकाका प्रमुख धनबहादुर विष्टले भन्नुभयो, “तालीमप्राप्त डकर्मीले वडामा गएर अन्य डकर्मीसमेत उत्पादन गर्ने व्यवस्था नगरले मिलाउनेछ ।”

तालीम प्राप्त डकर्मी तथा सचेत घरधनीका कारण नगरभित्रका भौतिक संरचना भूकम्पीय जोखिममुक्त हुने नगरको अपेक्षा छ । नगरपालिकाले हालै घर नक्सापासमा समेत कडाइ गरेको छ । नगरभित्र घर बनाउँदा विशेषज्ञ इन्जिनीयरले तयार पारेको नक्सा र अनिवार्य माटो परीक्षण गरेर मात्र घर निर्माणका लागि आवश्यक अनुमति प्रदान गर्ने गरेको छ ।

नगरपालिकामा मापदण्डविपरीत घर निर्माण भइसकेका घरलाई समेत जरिवानाको दायरामा ल्याएको नगरप्रमुख विष्टले बताउनुभयो । नेपालमा परम्परागत शैलीदेखि आधुनिक शैलीमा घर निर्माण भइरहेकाले त्यस्ता घरलाई बलियो बनाउनका लागि गाउँदेखि शहरसम्म सचेतना जगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

मानिसले आफ्नो जीवनमा सबैभन्दा बढी भरोसा गर्ने आफ्नै घर निर्माणमा सचेत नबन्दा आफ्नै ज्यानसमेत जान सक्ने भएकाले सचेत भएर घर निर्माण गर्न लाग्नुपर्ने युएमएनका विपद् जोखिम न्यूनीकरण अधिकृत सुरेश परियारले बताउनुभयो ।

ध्वनि प्रदूषणले हैरानी
झापाका माछा व्यापारीका चर्को ध्वनि प्रदूषणले जिल्लावासी हैरानी भएका छन् । गाडीमार्फत माछा बिक्रीका लागि माइकिङ गर्दा जिल्लावासी हैरानी भएका हुन् ।

पछिल्ला समय व्यापारीले गाडीमार्फत चौक र बजारसम्म डुलाउँदै माछा बेच्ने क्रम बढ्दो छ । गाडीमा माछा राखेर चर्को ध्वनि गरेर बजारीकरण गर्दा ध्वनि प्रदूषणले गर्दा चौक र बजारका बासिन्दा बढी प्रभावित हुनु परेको गुनासो छ ।

औषधि व्यवसायी सङ्घ झापा शाखाका अध्यक्ष गौतम गुप्ताले माछा व्यापारीले चर्को ध्वनि प्रदूषणले हैरानी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माछा बेच्नका लागि गरिने यस्तो प्रचार शैली सम्बन्धित निकायले तुरुन्त रोक लगाउनुपर्छ ।”

विर्तामोड–२ को हेभन वाटर पार्क, विर्तामोडकै रारा कृषि फार्म, हरियाली माछा फार्म, चुलाचुली–१ को साम्दाङवा एग्रो लगायतका कृषि फार्मले गाडीमा माछा विक्रीवितरण गर्दै आएका छन् । यस्ता फार्म हाउसले आफ्नै उत्पादनसँगै अन्य माछापालक किसानको माछा किनेर उपभोक्तालाई बिक्री गरिआएका छन् ।

गाडीमा राखेर गाउँगाउँमा डुलाउँदै माछा बेच्दा धेरै बिक्री हुने गरेका कारण पनि व्यापारीले बाजागाजा गरेर व्यापार गर्न आकर्षित भएका हुन् । बाजागाजाबाट निस्कने ध्वनि प्रदूषणका बारेमा भने व्यापारी चासो राख्दैनन् ।

हेभनले पूर्वमा सम्भवतः सबैभन्दा ठूलो माछा उत्पादन गरिआएको छ । हेभनले आफ्ना उत्पादनसँगै स्थानीय किसानको माछा खरिद गरी पूर्वमै बढी माछा बिक्री गर्दै आएको छ ।

हेभनले माछा बिक्रीका लागि बजारमा आधा दर्जनभन्दा बढी साना तथा ठूला गाडी सञ्चालन गर्र्दैआएको छ । बजारमा हेभनका जस्तै कतिपयले त्यसैको सिको गर्र्दै धमाधम बजार खोज्न थालेपछि प्रचार शैलीमाथि सार्वजनिक रुपमा रोक लगाउन मागसमेत बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

उपभोक्ता हित संरक्षण मञ्च दमकका सचिव गोपाल झापाली माछा बजारमा गरिँदै आएको बाजागाजा सहितको प्रचार शैली असभ्य भएको बताउनुहुन्छ । सबै माछा व्यापारीले यसरी नै बजार डुलाउँदै जाने हो भने के अवस्था होला ? उहाँले भन्नुभयो, “बजार खोज्ने शैलीलाई सच्याउनुपर्छ, अहिलेको जस्तो आतङ्क फैलाएर बजार प्रभावित गर्न पाइँदैन ।”

सरकारले सवारीसाधनलाई समेत हर्न बजाउन निषेध गरिआएको अवस्थामा जिल्लामा भने माछा व्यापारीले हर्न झैँ चर्को बाजागाजा गरेर व्यापार गर्दा नियमकारी निकाय बेखबर छ । स्थानीय तह र प्रहरीले सार्वजनिक रुपमा रोकावट गरेका छैनन् ।

२३ मंसिर २०७७, मंगलवार १६:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु