जनप्रतिनिधिलाई मुख्यमन्त्री ‘गुरुङ’को चेतावनी : डोजरले घिसारेर अख्तियार पुर्याउला!

पोखरा । केन्द्र सरकारसँग असन्तुष्ट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारसँग पनि असन्तुष्टि व्यक्त गरेका छन्।
उनले स्थानीय निकायहरु गैरकानूनी बाटोमा हिँडेको भन्दै गुनासो समेत गरे। स्थानीय तहले आफूखुुसी नियम र कानून बनाएको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।
‘नगरसभा र गाउँसभाले कानून बनाउँदैन, नगरपालिका र गाउँपालिकाकाले कानून बनाइरा’छ’, पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशको प्रदेश समन्वय परिषदको दोस्रो बैठकलाई सम्वोधन गर्दै उनले भने, ‘नियम कानून मिचेर अघि बढ्न सकिँदैन, एक दिन डोजरले घिसारेर अख्तियार पुर्याउला।’ उनको संकेत स्थानीय तहहरुले आफूखुसी डोजर किन्दै बाटो बनाउँदै गरेकोतर्फ लक्षित थियो। उनले नगरपालिका र गाउँपालिकालाई कानून नबनाउन निर्देशन दिँदै कुनै पनि सरकार स्वतन्त्र नभएको स्पष्ट पारे।
प्रदेश र संघलाई नसुनेर स्थानीय तहले आफूखुसी गर्ने कामले विकास र समृद्धि हासिल गर्न नसकिने उनको धारणा थियो। ‘स्थानीय सरकार र प्रदेश सरकारलाई अलग बनाएर मुलुकको समृद्धि हासिल गर्छु भन्ने सोच संघले राख्यो भने पनि त्यो असम्भव छ’, उनले भने। गुरुङले प्रदेश सरकार पनि स्वतन्त्र सरकार नभएको दोहो¥याए। ‘हामी स्वतन्त्र सरकार होइनौँ, स्वायत्त हौँ, हामीलाई कानून र बजेट बनाउने अधिकार छ, त्यसैले हामी सरकार हौँ’, उनले भने,‘ तर, संविधान फरक बनाउने अधिकार छैन, त्यसैले हामी स्वतन्त्र छैनौं।’ उनले जिल्ला समन्वय समिति सरकार नभएको जिकिर गरे।
मूख्यमन्त्री गुरुङले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे। ‘ढुंगा, गिटी, बालुवाको निर्णय व्यक्तिगत गर्नुहुन्न’, उनले भने,‘सबैलाई कानूनमा ल्याउनुपर्छ।’ मुख्यमन्त्री गुरुङले उद्घाटन र शिलान्यासमा मन्त्री र सांसदलाई धेरै नबोलाउन स्थानीय सरकारसँग आग्रह गरे। कर्मचारी र केन्द्रीय सरकारमा पुरानै मानसिकता भएका कारण सोचेजति काम गर्न नपाएको उनको गुनासो थियो।
११ मंसिर २०७५, मंगलवार १७:१७ बजे प्रकाशित