सुखी नेपालीको सन्दर्भमा गरिएको एउटा परिकल्पना पूरा हुँदैछ : विष्णु रिमाल
वि.सं.२०७५ मंसिर ११ मंगलवार १७:१९
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को सन्दर्भमा गरिएको परिकल्पना पूरा हुन लागेको बताएका छन् । मंगलवार काठमाडौंमा सामाजिक सुरक्षा योजना कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै रिमालले झण्डै डेढ दशकदेखिको योजना सफल भएको बताएका हुन् ।
‘सामाजिक सुरक्षा कोष अब कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषभन्दा पनि ठूलो हुन्छ, निर्माणाधीन बाटो नै यसको सफलताको आधार हो,’ रिमालले भने । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का पूर्वअध्यक्ष समेत रहेका रिमालले सामाजिक सुरक्षा योजना लागू भएपछि नेपालको श्रम बजार सुरक्षित र मर्यादित बन्ने विश्वास व्यक्त गरे ।
सामाजिक सुरक्षा योजना लागू भएपछि राज्यले अहिले जेष्ठ नागरिकलाई दिएको वृद्ध भत्ता भविष्यमा आफैंले गरेको योगदानबाटै पाउने उनले विश्वास व्यक्त गरे । रिमालले सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै नेपाललाई नयाँ युगमा प्रवेश गराउने अभियान शुरू भएको भन्दै यसमा सहयोग गर्ने ट्रेड युनियन र उद्योगीलाई धन्यवाद दिए ।














