मातृत्व र नेतृत्व सँगै : कल्पना हरिजनको समय

6.62K
shares

लुम्बिनी, रुपन्देही ।
बिहानको उज्यालो लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यालय परिसरमा फैलिँदै गर्दा कल्पना हरिजनको दिन सुरु भइसकेको हुन्छ। कहिले मोबाइलको घण्टीले, कहिले फाइलको चापले, त कहिले घरमा छोडेर आएको सानो शिशुको सम्झनाले। उनको जीवन अहिले दुई ध्रुवबीच चलिरहेको छ,एकातिर आमाको संवेदनशील मन, अर्कोतिर नगरको नेतृत्व सम्हाल्ने कठोर जिम्मेवारी। लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यबाहक नगरप्रमुख कल्पना हरिजन आज केवल एउटा पद धारण गरेकी जनप्रतिनिधि मात्र होइनन्। उनी समयको एउटा विशेष क्षणको प्रतिनिधित्व गर्छिन्—जहाँ महिला नेतृत्व, मातृत्व, सामाजिक विभेद र स्थानीय शासन सबै एकै ठाउँमा भेटिन्छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुख पदमा निर्वाचित भएकी हरिजन नगरप्रमुखको असामयिक निधनपछि कार्यबाहक नगरप्रमुखको भूमिकामा आइपुगेकी हुन्। यो जिम्मेवारी उनले जीवनकै सबैभन्दा संवेदनशील चरण पहिलो सन्तान जन्मिएको केही समयमै सम्हाल्नुपरेको छ। २०८१ सालमा आमाको रूपमा नयाँ जीवन सुरु गर्दा उनीसँग सँगसँगै हजारौँ नागरिकका अपेक्षा पनि थपिएका थिए।कहिलेकाहीँ कार्यालयको कुर्सीमा बसेर निर्णय लिँदै गर्दा उनको मन घरतिर दौडिन्छ। स्तनपानको समय छोटिएको छ, बालकको निद्रा अपूरो हुन सक्छ भन्ने चिन्ता मनमा खेल्छ। उनी स्वीकार्छिन्—कहिलेकाहीँ आफूले आफ्नै बालकको बालअधिकार कुण्ठित गरिरहेकी जस्तो लाग्छ। तर त्यही क्षण उनी आफैंलाई सम्झाउँछिन्—यो नगरका बालबालिका पनि उनका आफ्नै हुन्। उनले जन्माएको सन्तान एउटा होला, तर उनको जिम्मेवारीभित्र पर्ने सन्तानको संख्या हजारौँ छ।

कल्पना हरिजनको यात्रा दलित समुदायकी छोरीबाट नगर नेतृत्वसम्मको यात्रा हो। सानैदेखि देखेको जातीय विभेद, सुनेका अपमानका शब्द र भोगेका मौन पीडाले उनलाई चुप लागेर बस्न दिएन। उनले चाँडै बुझिन्—विभेदको अन्त्य भावनाबाट होइन, शिक्षा र नेतृत्वबाट सम्भव हुन्छ। यही बुझाइले उनलाई सामाजिक कामतर्फ डोर्‍यायो। २०७० सालदेखि उनी सामुदायिक सिकाइ केन्द्रसँग आबद्ध भइन्, शिक्षा क्षेत्रमा काम गरिन् र पछि निजी विद्यालय सञ्चालनसम्म पुगिन्। शिक्षा उनका लागि पेशा मात्र थिएन, सामाजिक रूपान्तरणको माध्यम थियो। राजनीतिमा प्रवेश गर्नु उनको लागि सजिलो निर्णय थिएन। दलित समुदाय, त्यसमाथि महिला—नेतृत्वमा पुग्नु आफैंमा चुनौती थियो। तर उनी पछि हटिनन्। २०७२ सालमा उनले दलित तथा महिला अधिकारका सवालमा खुलेर बोल्न थालिन्। उनी राजनीतिलाई सत्ता प्राप्तिको साधन होइन, आवाजविहीनको आवाज बन्ने थलो मान्छिन्।नगरप्रमुखको निधनपछि कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्दा उनको काँधमा केवल कुर्सीको भार थिएन, एक पूरै नगरको निरन्तरताको जिम्मेवारी थियो। विकास आयोजना रोकिए भने जनता प्रभावित हुन्छन्, निर्णय ढिलो भए सेवा अवरुद्ध हुन्छ। यही चेतनाले उनी राजस्व संकलन, विकास आयोजनाको अनुगमन, न्यायिक समितिको सञ्चालन, आधारभूत स्वास्थ्य चौकी व्यवस्थापन, प्रशासनिक भवन निर्माण, छात्रवृत्ति वितरण र बिउपूँजी कार्यक्रमहरूमा सक्रिय देखिन्छिन्। संक्रमणकाल हो भनेर काम रोकिनु हुँदैन भन्ने उनको स्पष्ट धारणा छ। मातृत्व र नेतृत्वबीचको सन्तुलन उनका लागि दैनिक अभ्यास हो। व्यस्त तालिकाबीच पनि उनले आफूलाई कमजोर ठानिनन्। बरु मातृत्वले उनलाई अझ संवेदनशील, धैर्यवान् र जिम्मेवार बनाएको छ। पति र सासू आमाको सहयोग उनको जीवनको आधार बनेको छ। उनी बुझ्छिन्—महिला नेतृत्व एक्लै सम्भव हुँदैन, यो परिवार र समाजको समर्थनसँग गाँसिएको विषय हो।आज कल्पना हरिजन लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यबाहक नगरप्रमुख मात्र होइनन्। उनी दलित महिलाहरूका लागि सम्भावनाको झ्याल हुन्, स्थानीय शासनमा समावेशी नेतृत्वको उदाहरण हुन्, र मातृत्वसँगै सार्वजनिक जीवन सम्भव छ भन्ने सन्देश बोकेकी प्रतीक हुन्। उनको कथा बताउँछ—नेतृत्व सधैँ कठोर आवाजमा हुँदैन, कहिलेकाहीँ त्यो आमाको काखबाटै जन्मिन्छ।