किराँत समुदायले आज उभौली पर्व मनाउदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

7.23K
shares

काठमाडौं । किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले प्रकृतिको पूजा गर्दै आज उभौली पर्व मनाउदैछन् । अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङ्गली जनावरले दुस्ख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ ।

तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो । किराँत जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्षोल्लासका साथ यो पर्व मनाइन्छ । पछिल्लो पटक काठमाडौंमा बसोबास गर्ने किराँत समुदाय पनि एकै ठाउ भेला भई यो पर्व मनाउने प्रचलन बढेको छ ।

यसैबीच पर्वको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति, सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन् । यस्तै, प्रधानमन्त्री केपी ओलीले तीनै तहको निर्वाचन सम्पन्न भएर देशले विकासको गति लिइरहेको अहिलेको अवस्थामा यस पर्वले सामाजिक सांस्कृतिक सद्भावलाई प्रगाढ गरी विविधतामा एकताको मान्यतालाई अझ प्रगाढ बनाउने विश्वासे व्यक्त गरे ।