भाइटीकाको उत्तम साइत ११ बजेर २७ मिनेटमा, भाइटीका मनाउने यस्तो छ विधि

7.11K
shares

काठमाडौ । भाइटीका लगाउन मंगलबार बिहान ११ बजेर २७ मिनेट जाँदाको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यद्यपी भाइटीकाको दिन मंगलबार दिनभरि नै राम्रो साइत भएकाले आफू अनुकुल लगाउँदा राम्रो हुने समितिले जनाएको छ ।

भाइटीकामा दिदी बहिनीले दाजु(भाईलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार पकाएर खुवाउने गरिन्छ ।

तिहारले अहिले गाउँघर झिलिमिली भएको छ । पहिलो दिन कागको पुजा गरी सुरु भएको तिहारमा सोही दिनबाटै घर, चोक, बस्ती र नगर बत्तीले झिलिमिली पारिएको छ । आइतबार गाइको पूजा गरेर साँझ लक्ष्मीमाताको पूजाआजा गरी रातिदेखि नै देउसी भैलो खेल्ने काम सुरु भएको छ । गाउँ तथा सहरमा केटाकेटी, युवापुस्ताहरु विभिन्न समूह बनाई देउसी भैलो खेली रमाईरहेका छन् । त्यस्तै आज गोबरको पर्वत बनाएर गोबर्धन पुजा गरिन्छ भने भोली भाइटीका लगाउने तयारीमा दिदीबहिनीहरु फूलका माला उन्न व्यस्त रहेका छन् ।

धनकी देवी लक्ष्मीको पर्व । गाई, गोरु, कुकुर, कागको पर्व । अनि, दाजुभाइ दिदीबहिनीको पर्व । तिहारले चेली माइतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।

तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितिया तिथिमा भाइटीका मनाइन्छ । भाइटीकाको आफ्नै विधि विधान छन् । चेलीले माइतीलाई विधिपूर्वक पूजा गरेर सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । मिठो मसिनो खुवाउँछन् । दाजुभाइले चेलीलाई दक्षिणा दिन्छन् । खासमा, चेली माइतीबीचको सम्बन्ध सुमधुर राख्ने मेलो हो यो ।

पौराणिक कथनअनुसार बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान र पूजा गरेकी थिइन् । यमपञ्चकका पाँच दिन यमराज बहिनी यमुनाको घरमा बास बस्न पुगेका थिए । बहिनीले उनको आतिथ्यमा कुनै कमि हुन दिइनन् । उनले त्यस दिन भाइपूजा गरेर यमराजलाई खुशी तुल्याएकी थिइन् ।

यसदिन चेलीले आफ्ना माइतीको सुख, समृद्धि, आरोग्य एवं दीर्घायूको कामना गर्ने गर्छन् ।

कसरी मनाउने भाइटीका, यस्तो छ विधि

१. टीकाको बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज,
 हनुमान, विभिषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् ।

२. भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, 
दूबो तथा सयपत्रीको माला, रोटी, मीठा(मीठा परिकारको आवश्यकता पर्छ ।

३. दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ ।

४. माइतीको मंगल कामना गर्दै ढोकामा ओखर फुटाइन्छ ।

५. माइती बसेको वरिपरि पानी र तेलले सात घेरा हाल्नुपर्छ ।

६. फूल, अक्षता, चन्दन र लाभाले पूजा गरी माइतीको शिरमा तेल लगाइदिनुपर्छ ।

७. सगुनका रुपमा दही चाहिन्छ ।

८. निधारमा सप्तरंगी टीका लगाएर मखमली, सयपत्रीको माला लगाइदिनुपर्छ ।