छठको रौनक शुरु

२०७५ कात्तिक २४ शनिवार
1.7K
shares
महोत्तरी । शुक्रबार देखि हिन्दू नेपालीको पर्व तिहार सकिएको छ । यो पर्व सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ ।
छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।
अहिले तराई मधेश तथा मिथिलाञ्चलवासी चौथीको दिन देखि सुरु हुने छठको तयारीमा जुटेका छन् ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री लगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।
मुख्यत : सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डा ललगायतको व्यवस्था मिलाउन थालेका छन् ।
चार दिन सम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ । पछिल्लो वर्षहरुमा मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ।

२०७५ कात्तिक २४ शनिवार