अर्कैको बच्चा जन्माएको भन्दै एक महीनाकी सुत्केरीलाई घर निकाला

5.85K
shares

नारायणपुर । दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् ।

तीन वर्ष पहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन सुरु गरेका थिए । ‘तीन वर्ष पहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महिनाबाटै पिट्न शुरु गर्नुभयो,’ पीडित दुर्गाले भनिन्, ‘गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।’ सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताइन् ।

सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नु पर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् । केही दिन पहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएकी थिइन् । जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रहरीले केही गर्न नमिल्ने भन्दै फकाई दिएको पीडितले बताइन् ।


divya collage
unigloble collage