ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो
वि.सं.२०७५ पुस ४ बुधवार १५:५६
shares

लहान। ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ। लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत्ता भएको र निर्माण भएका सडक र नालासमेत वर्षदिन नबित्दै भत्किन थालेको व्यापक जनगुनासोपछि आयोग इटहरीले पत्र काटेर सम्पूर्ण वितरण माग गरेको हो।
आयोग इटहरीले गत २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजको नाममा पत्र काटेर सडकको हालसम्मको अवस्था, सम्पन्न भएको र गर्न बाँकी रहेको कार्य, हालसम्म भुक्तानी भएको, निर्माण कार्य सम्पन्न नहुनुका कारण लगायतको विवरण माग गरेको छ। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनी काम अलपत्र छाडेर सम्पर्कबिहीन भएपछि हाल करीब ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीले बताएका छन्।
कूल रु ११ करोड एक लाख ७९ हजार ५५२ को लागतमा सञ्चालित उक्त योजनाअन्तर्गत निर्माणाधीन उक्त सडकसँगै सडक छेउमै पानी बहावको लागि निर्माण गरिएको नालासमेत एक÷डेढ वर्ष नबित्दै भत्किन थालेको छ। तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने हालसम्म कालोपत्रे गरिएका सडकबाट ठाउँठाउँमा कालोपत्रे उप्किनुको साथै खाल्डाखुल्डी समेत देखिएको छ। तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलोमतोमा रु सात करोड ३५ लाख ९४ हजार ३४५ निकासा भएको जनाइएको छ।
यस्तै कुशहादेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करीब साढे १६ किलोमिटरसम्म निर्माण गरिने उक्त सडक निर्माणको काम समयमा पूरा नहुँदा सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी हुन थालेकाले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासीको भनाइ छ। ठेकेदार कम्पनीले कमिसनका लागि अन्य साना ठेकेदारमार्फत काम गराउँदा समयमा सडक निर्माणको काम पूरा नभएको र भएका काम पनि गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले सो निर्माण कार्यको छानबिन हुनुपर्ने माग गरेका छन्। रासस
































