भारी हिमपातका कारण हुम्लामा हवाई सेवा बन्द

5.73K
shares

हुम्ला। आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ। जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ। जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ। जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ।

बुधबारदेखि हिमपात हुँदा यहाँको दैनिकी निकै समस्यामा परेको छ। विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा पाँच फिट हिउँ जम्नुका साथै चिसो बढेको र हुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रप्रसाद ढुङ्गानाले जानकारी दिए।

हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समस्या भएको विनिता महताराले बताए। हिमपातले एक गाउँबाट अर्को गाउँमा समेत जान समस्या भएको छ। जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सिमकोटमा बढी हिमपात भएको छ। हिमपातले त्यस क्षेत्रका स्थानीयवासीलाई घर निस्कनसमेत समस्या बनाएको छ। साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ। उत्तरी नाम्खा गाउँपालकाका नागरिक सिमकोटसँग सम्पर्क सञ्चारमा सम्पर्कविहीन छन्।

एसइई ट्युसन र विद्युत् बन्द

चैतमा हुने एसइईको तयारी कक्षा लिँदै आएका विद्यार्थीको ट्युसनसमेत बन्द भएको छ। भारी हिमपातले विद्यार्थीलाई ट्यिुसन कक्षा जानसमेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले जानकारी दिए।

हिल्दुम साना जलविद्युत् केन्द्रले हुरी र हिमपातका कारण आफ्नो विद्युत् प्रशारण लाइनलाई बन्द गरेको छ। विद्युत् प्राधिकरणका प्रशासन प्रमुख यमप्रकाश खड्काले हिमपातले र हुरीले कतै पोल ढल्नुका साथै तार चुँडिएकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए। विद्युत् बन्द हुँदा सिमकोटमा रहेको सामुदायिक रेडियोसमेत बन्द हुनुका साथै विद्युत्मार्फत सञ्चालन हुने विद्युतीय कामसमेत बन्द हुनपुगेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083