दुर्घटनामा परी ज्यान गुमाएका सांसद वलीको अन्तिम दाहसंस्कार

4.39K
shares

लमही । दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ। सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको छ।

सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं.५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए। त्यस अवसरमा शोक मन्तव्य व्यक्त गर्दै प्रदेश नं.५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताए।

उनले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै वलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पुर्याउने बताए। प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले वलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताए।

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका वलीको काठमाडौँको मेडिसिटी अस्पतालमा लगिएको थियो। दुर्घटनामा परी टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । बुटवलबाट गृह जिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नं को यात्रुबहाक बस र सांसद वली चढेको बा १८ च ६८३६ नं को कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

उनकी श्रीमती र दुई छोरा छन्। २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए। शुक्रबार नै हेलिकप्टरमार्फत उनको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको हो। उनको दाह संस्कारमा हजारौँ पार्टीका कार्यकर्ता तथा स्थानीय समभागी भएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083