उपप्रमुखसँग विद्यार्थी: हातको इशाराले हललाई भावुक बनायो

उनकी शिक्षिकाले प्रत्येक इशारालाई शब्दमा रूपान्तरण गर्दै हलमा सुनाइन्,"कसैले असहाय बालबच्चालाई एडप्ट गरेर उच्च शिक्षा दिन खोज्दा पनि कानुनी झन्झटका कारण सम्भव हुँदैन। बहिरा र अपांग बच्चाका हकमा झनै कठिन छ — यो किन? नगरपालिकाले यसमा के गर्न सक्छ?"

2.85K
shares

सिद्धार्थनगर, रुपन्देही। हल भरि विद्यार्थी थिए। एकपछि अर्को प्रश्न आउँदै थियो। तर जब बाल बहिरा माविका बहिरा तथा वाक् अपांग विद्यार्थी रोशन रेग्मी उठे हल एकछिन शान्त भयो।
उनलाई माइक्रोफोनको जरुरत थिएन। उनका हातहरू नै उनको आवाज थिए। उनकी शिक्षिकाले प्रत्येक इशारालाई शब्दमा रूपान्तरण गर्दै हलमा सुनाइन्,”कसैले असहाय बालबच्चालाई एडप्ट गरेर उच्च शिक्षा दिन खोज्दा पनि कानुनी झन्झटका कारण सम्भव हुँदैन। बहिरा र अपांग बच्चाका हकमा झनै कठिन छ, यो किन? नगरपालिकाले यसमा के गर्न सक्छ?”
हात रोकिए। हल स्तब्ध भयो। अनि ताली बज्यो।

उपप्रमुख उमा अधिकारीका आँखा भिजे। उनले भनिन् ,”यो प्रश्नले हाम्रो व्यवस्थाको अनुहार देखाउँछ। यो विषय म प्रदेश र संघीय तहमा उठाउनेछु। यो थियो सिद्धार्थनगर नगरपालिका वडा नं। ८ स्थित लीलाराम न्यौपाने माविमा आयोजित उपप्रमुखसँग विद्यार्थी कार्यक्रमको सबैभन्दा मार्मिक क्षण।नगरपालिका र हिडेन नेपाल मिडिया प्रा। लि। को प्राविधिक समन्वयमा आयोजित यस कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका विभिन्न विद्यालयका ५४ विद्यार्थी सहभागी थिए। कार्यक्रम तीन चरणमा भयो।पहिलो प्रशिक्षण सत्रमा अनुभवी अधिवक्ताहरूले विद्यार्थीहरूलाई बाल अधिकार, शैक्षिक कानुन र छात्रवृत्तिसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिए। त्यसपछिको संवाद सत्रमा उपप्रमुख उमा अधिकारीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भनिन् ” तपाईंहरू नै सिद्धार्थनगरको भविष्य हो। तपाईंहरूका समस्या र सपनाहरू सुन्नकै लागि म यहाँ आएकी हुँ।”


अन्तरक्रिया सत्र कार्यक्रमकै सबैभन्दा जीवन्त भाग बन्यो। एक छात्राले सोधिन् “हाम्रो विद्यालयमा विज्ञान प्रयोगशाला छैन। परीक्षामा आउँछ तर अभ्यास गर्ने ठाउँ छैन। नगरपालिकाले कहिले व्यवस्था गर्छ? “उपप्रमुखले आगामी बजेटमा प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइन्।एक दलित समुदायका छात्रले भने छात्रवृत्तिका लागि कागजात माग्दा वडा कार्यालयले पटकपटक फर्काउँछ। गरिब परिवारका बच्चाले कहाँसम्म धाउने?” उपप्रमुखले छात्रवृत्ति प्रक्रिया सरल बनाउने आश्वासन दिइन्।
एक छात्राले महिला विद्यार्थीको सुरक्षाको विषय उठाइन, विद्यालय आउने र जाने बाटो सुरक्षित छैन। साँझ पर्दा डर लाग्छ। यसमा नगरपालिकाले के गर्छ? उपप्रमुखले सडकबत्ती र सुरक्षाको विषयमा सम्बन्धित निकायसँग कुरा गर्ने बताइन्।
अनि रोशनको त्यो मौन प्रश्नले हललाई भावुक बनायो। कार्यक्रमको अन्तमा उपप्रमुख उमा अधिकारीले सहभागी ५४ वटै विद्यार्थीलाई आफ्‌नै हातले प्रमाणपत्र प्रदान गरिन्। प्रमाणपत्र थाम्दा विद्यार्थीहरूका अनुहारमा गर्व र खुसीको भाव स्पष्ट देखिन्थ्यो।
एक विद्यार्र्थीले भने आज हामीले सिक्यौं कि आफ्‌नो हक माग्न डराउनु हुँदैन। यो कार्यक्रम भविष्यमा नगरपालिकाका अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको आयोजकहरूले जानकारी दिए।रोशनको मौन प्रश्न यस कार्यक्रमकै सबैभन्दा ठूलो आवाज बन्यो — किनभने कहिलेकाहीं नसुनिने आवाजहरू नै सबैभन्दा गहिरो कुरा बोल्‌छन्। ।


divya collage
unigloble collage