शहीद स्मारक लिग : आज तेस्रो चरणका अन्तिम खेल हुँदै

वि.सं.२०७५ मंसिर ८ शनिवार ०८:२९
shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो चरणका अन्तिम दुई खेल आज हुँदै छन्। हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने पहिलो खेल विहान ११ बजे सुरु हुने छ। उक्त खेलमा फ्रेन्ड्स क्लब र सरस्वतीक्लब आमने सामने हुने छन्।
लिगको अघिल्ला दुई खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । फ्रेन्ड्स क्लब थ्री स्टार क्लबसँग २–१ ले र टोली एपीएफसँग १–० गोलले पराजित भएको थियो। यस्तै सरस्वती क्लब पहिलो खेलमा सिएमजी संकटा क्लबसँग १–० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा हिमालयन शेर्पासँग १ – ० ले नै स्तब्ध भएको थियो।
जारी लिगमा अंक जोड्न नसकेको फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ । यस्तै सरस्वती १३ औं स्थानमा रहेका छन्। त्यस्तै शनिबार नै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र हिमालय शेर्पाबिच खेल हुने छ। हिमालय शेर्पाले एक खेलमा जित र एक खेलमा बराबरी गर्दै चार अंक बटुलेको छ भने जावलाखेल क्लब दुवै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेको छ।