सिटीसँगको अंकदूरी घटाउँदै लिभरपुल, चेल्सी पराजित

4.77K
shares

काठमाडौँ । बर्नलीमाथि जित निकाल्दै लिभरपुलले शिर्ष स्थानको म्यानचेष्टर सिटीसँगको अंक दूरी २ मा झारेको छ । इङ्लिस प्रिमिएर लिग फुटबल अन्तर्गत बुधबार राति पछि परेको नतिजालाई उल्ट्याउँदै लिभरपुलले बर्नलीविरुद्ध ३–१ को जित निकालेको हो ।

जितसँगै लिभरपुल १५ खेलबाट ३९ अंकसहित लिगको दोस्रो स्थानमा छ । समान खेलबाट ४१ अंकसहित सिटी शिर्षस्थानमा छ । बर्नलीको घरेलु मैदानमा पहिलो हाफमा बराबरी खेलेको लिभरपुल ५४ औं मिनेटमा पछि परेको थियो । ज्याक कोर्कले गोल गर्दै बर्नलीलाई दिलाएको अग्रता ६२ औं मिनेटमा जम्स मिल्नरले बराबरी पारेका थिए । बराबरीपछि उत्साहित लिभरपुलले ६९ औं मिनेटमा रोबेर्टो फिरमिन्होको गोलबाट अग्रता बनाएको थियो । भानको पासमा फिरमिन्होले गोल गरेका थिए । खेलको अतिरिक्त समयमा जेदार्न साकिरिले अर्को गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

लिग अन्तर्गत गएराति भएको अर्को खेलमा एभर्टन र न्युकासलले १–१ बराबरी खेल्दा चेल्सी बुल्भसँग २–१ ले पराजित भएको छ । पराजितपछि चेल्सी १५ खेलबाट ३१ अंकसहित लिगको चौथो स्थानमा छ ।