लासिथ मालिंगाः एक वर्ष टिमबाटै बाहिर, शानदार कमब्याकसँगै वनडे र टि–२० का कप्तान
वि.सं.२०७५ पुस १ आइतवार १२:२६
shares

कोलम्बो। खराब फर्मका कारण एक वर्षसम्म राष्ट्रिय टिमबाटै बाहिरिएका श्रीलंकाका स्टार फास्ट बलर लासिथ मालिंगाले शानदार कमब्याक गरेका छन् । एक वर्षपछि यही सेप्टेम्बर १५ मा बंगलादेशविरुद्धको एसिया कपको खेलमा कमब्याक गरेका मालिंगा अहिले राष्ट्रिय वनडे र टि–२० टिमको कप्तान बनेका छन् । मालिंगाले सेप्टेम्बर ६ २०१७ मा भारतविरुद्धको टि–२० अन्तर्राष्ट्रिय खेलेपछि एक वर्षसम्म राष्ट्रिय टिममा परेका थिएनन् ।
उनलाई खराब फर्मका कारण टिमबाट बाहिर राखिएको थियो । एक वर्षपछि राष्ट्रिय टिममा फर्किएका मालिंगाले कमब्याकको पहिलो खेलमै १० आभरमा २३ रन दिँदै ४ विकेट लिएका थिए । त्यसपछि राष्ट्रिय टोलीका नियमित सदस्य बनेका मालिंगालाई अहिले श्रीलंकाको क्रिकेट बोर्डले वनडे र टि–२० टिमको कप्तान नियुक्त गरेको हो ।
अहिले न्यूजिल्याण्ड भ्रमणमा रहेको श्रीलंकाले त्यहाँ तीन एकदिवसीय र १ टि–२० खेल खेल्नेछ । यी खेलमा मालिंगा टिमका कप्तान हुनेछन् । विश्वकप नजिकिँदै गर्दा मालिंगालाई टिमको कप्तान बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । २०१४ को टि–२० विश्वकपको फाइनल खेलमा मालिंगाले नै कप्तानी गरेका थिए । जुन फाइनलमा भारतलाई हराउँदै श्रीलंकाले टि–२० विश्वकप जितेको थियो ।
बोर्डले विकेटकिपर ब्याट्सम्यान निरोसन डिकवेलालाई टिमको उपकप्तान बनाएको छ । अहिले टिममा मालिंगासँगै एन्जेलो म्याथ्युजले पनि कमब्याक गरेका छन् । सेकुगु प्रसन्ना र असेला गुणरत्नेले पनि टिममा स्थान बनाउन सफल भएका छन् । श्रीलंकाको वन डे र टि–२० टिममा अहिले कप्तान मालिंगासँगै उपकप्तान निरोसन डिकवेला, एन्जेलो म्याथ्युज, दनुस्का गुणतिलका, कुशल परेरा, दिनेश चांडीमल, असेला गुणरत्ने, कुशल मेंडिस, धनंजया डीसिल्वा, थिसारा परेरा, दासुन शनाका, लक्षण सांदकन, सेकुगु प्रसन्ना, दुश्मन्थ चमीरा, कासुन रजिथा, नुवान प्रदीप और लाहिरू कुमारा छन् ।









