टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन ‘पिक एण्ड ड्रप’ मात्रै

4.39K
shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आइतबारबाट टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ। सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ। कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।

डङ्गोलका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ। डङ्गोलले भने, “रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ। कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।

टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो। यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन्। पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ। एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन्। तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ।

यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ। टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन्। टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन्।

यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन्।

पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ। यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083