प्रचण्डसँग ओलीको ठट्टा : मिल्ने भए सँगै प्रधानमन्त्री बन्थ्यौं
वि.सं.२०७५ पुस १ आइतवार १३:०२
shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोसिस गरिरहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जतिप्रयास गरेपनि सफल नहुने जिकिर गरे। देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गरे। छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कँदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे।
प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दावी गरे। उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरे। प्रहरी तालिम केन्द्र ३ दशक अघि पनौति सार्ने निर्णय भएपनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरे। उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच हुने अपुगलाई पूर्णता दिन पार्टीका कानुन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे।












