राष्ट्रपतिले शिलान्यास गरिन् दक्षिण एशियाकै नमूनासभा हल

6.46K
shares

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा दक्षिण एशियाकै नमूनासभा हलको शिलन्यास गरेकी छिन् । यो सभाहल एशियाकै नमूना हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

कुल ५ हजार मानिस अटाउन सक्ने क्षमताको सभा हल प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भनिए पनि अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गरेकी हुन् ।

करिब ४० करोडको लागतमा बन्ने यो सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ । सभा हलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ । हललाई आवश्यकताअनुसार सानो ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले बताए ।

दुई वर्षअघिको २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले बिथोलिएको देखेपछि त्यतिबेलै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए । प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो । लुम्बिनी विकास कोषले तीनहजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने यसैवर्ष बनाइसकेको छ । तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभा हलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको छ ।

यसअघि आइतबार नै प्रधानमन्त्री ओलीबाट सभा हलको शिलान्यास गर्ने कार्यक्रम थियो । तर, प्रधानमन्त्री ओली प्रदेश ५ को संसद बैठकमा विशेष सम्बोधन र लुम्बिनी विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदा समय अभावका कारण शिलान्यास कार्यक्रम सोमबार सरेको हो । सोमबार राष्ट्रप्रमुख नै उपस्थित हुने भएपछि सभा हलको शिलान्यास प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिबाट भएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।