शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा
वि.सं.२०७५ मंसिर ४ मंगलवार १६:२२
shares

साँखु । काठमाडौँको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । वार्षिक उत्सव कार्यक्रममा मंगलबार क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषय अनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।
क्याम्पसका स्ववियु सभापति पल बज्राचार्यले विद्यार्थीको भविष्यमाथि खेलबाड् भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरिएको हो भने । बज्राचार्यले प्रशासनमा आर्थिक पारदर्शिता नभएकैले विद्यार्थीलाई चाहिने स्रोतसाधन जुटाउन नसकेको भन्दै विद्यार्थी युनियनको नेतृत्वमा क्याम्पसको प्रशासन सुधार्न र शैक्षिक गुणस्तर बढाउन माग गरेको बताए ।
करीब ४०० विद्यार्थी रहेको सो क्याम्पसमा विषयगत शिक्षक नहुँदा पठनपाठनमा अवरोध पुगेको विद्यार्थीको गुनासो छ । कक्षा १२ मा अध्ययनरत निशा गहतराज भन्छन्, “ कक्षा ११ मा हामीले पत्रकारिता विषयको एक पृष्ठ पनि पढाउने शिक्षक पाएनौँ, विना शिक्षक अहिले पनि १२ कक्षा पढिरहेका छौँ के बुझेर परीक्षा दिने आफै अन्योलमा छौ ।
विरोध कार्यक्रममा पुग्नुभएका नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुमन पाण्डेले विद्यार्थीको गुनासोका बारेमा क्याम्पसलाई ध्यानाकर्षण गराउँदै जायज माग पूरा गर्न प्रशासनलाई आग्रह गरे । तत्कालै विद्यार्थीका समस्या हल गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने क्याम्पस प्रमुख शैलेन्द्रप्रसाद कुँईकेलले बताए । रासस














