अब पाँच लाख कर्मचारीको एउटै कितावखाना
वि.सं.२०७५ मंसिर ८ शनिवार १५:३३
shares

काठमाडौं । सरकारले तीन कर्मचारी क्षेत्रलाई समेटेर एउटै राष्ट्रिय कितावखाना बनाउने भएको छ ।
सरकारल निजामती कर्मचारी, विद्यालय शिक्षक र प्रहरीको छुट्टाछुट्टै किताबखाना मर्ज गरेर एउटै राष्ट्रिय किताबखाना बनाउने भएको छ । सरकारले तीन वटै किताबखाना एउटै बनाएर राष्ट्रिय किताबखाना बनाउन लागेको हो । पाँच लाखभन्दा बढी कर्मचारी, शिक्षक र प्रहरीको विवरण एकै ठाउँमा अभिलेख राखिने भएको हो ।
नेपाली सेनाको अभिलेख राख्ने सैनिक अभिलेखालय बाहेकका तीन वटै किताबखाना मर्ज गरिने निजामती कर्मचारी किताबखानाका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिएका छन् । ्उनले कर्मचारी, शिक्षक र प्रहरी किताबखानाको मर्जको प्रक्रिया शुरु भइसकेको जानकारी दिए । उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वटै किताबखाना मर्ज हुन लागेको छ । कार्यविधि तयार भइरहेको छ भने भवन खोज्ने काम पनि भइरहेको छ ।’
यस्तो छ १७२ वर्षे किताबखानाको कथा
१९०३ सालमा राणा शासनको शुरुवात भएपछि पजनी हुने कर्मचारीको लगत राख्न एक कर्मचारी व्यवस्था गरेर किताबखाना स्थापना गरिएको थियो । निजामती, जंगी, प्रहरी र मिलिसिया कर्मचारीको लगत व्यवस्थित रूपमा राख्ने प्रयोजनको १९०५ सालमा मुलुकी किताबखानाको विधिवत स्थापना भएको हो । १९३३ सालमा कमाण्डर इन चिफको मातहतमा रहने गरी मुलुकी किताबखानालाई कमाण्डरी किताबखानामा परिणत गरिएको हो ।
१९९७ सालपछि सेवानिवृत्त कर्मचारीलाई निवृत्तभरण (पेन्सन) दिने व्यवस्था लागू भएपछि कर्मचारीको वैयक्तिक विवरण फारम (सिटरोल) भरी राख्न शुरु गरियो । २००९ सालमा नेपाली सेनाको पुनर्गठन भएपछि जंगी फाँटलाई अलग गरी सैनिक सेवामा रहेका व्यक्तिको अभिलेख अद्यावधिक राख्न कमाण्डरी किताबखाना फाँटको स्थापना भयो ।
कमान्डरी किताबखाना जंगी फाँटको कार्य सञ्चालन २०२७ सम्म निजामती कर्मचारीबाट गर्ने गरेकोमा त्यसपछि उपसचिवस्तरको प्रमुख सेनानीबाट भयो । २०४३ वैशाख १ गतेबाट लागू हुने गरी तत्कालीन श्री शाही नेपाली सैनिक अभिलेखालय नामाकरण गरी काठमाडौं भद्रकालीमा खडा गरियो ।














