सामाजिक सुरक्षा योजनाप्रति निजी क्षेत्र पनि उत्साहित, कसले के भने ?

4.94K
shares

काठमाडौं । सरकारले आज (मंगलवार)बाट कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाप्रति निजी क्षेत्र पनि उत्साहित देखिएको छ । औपचारिक रूपमा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनका लागि आयोजित कार्याक्रममा बोल्दै निजी उद्योगीहरूले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनुले नेपालमा औद्यागिक शान्ति स्थापना हुने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको प्रति खुशी व्यक्त गर्दै यसले मुलुकमा औद्योगिक शान्ति स्थापना हुने बताइन् । सरकारले कार्यान्वयनमा ल्याउन खोजेको सामाजिक सुरक्षा योजना कार्यान्वयनले नेपाली बजारलाई अझ मर्यादित उनको भनाइ छ ।

‘सामाजिक सुरक्षा योजना कार्यान्वयनले श्रम बजारलाई गतिशील र मर्यादित हुनेमा म विश्वस्त छु,’ उनले भनिन्, ‘यसले सबै श्रमिकको भविष्य सुरक्षित गरेको छ ।’ उनले सामाजिक सुरक्षा योजनालाई सबैको पहुँचमा पु¥याउने पर्ने भन्दै यसको कार्यान्वयनका लागि रोजगारदाताको विशेष भूमिका रहने बताइन् ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिषद्का अध्यक्ष हरिभक्त शर्माले सामाजिक सुरक्षा कार्यान्वयनले नेपालमा काम गरेर खाने वातावरण बनेको विश्वास व्यक्त गरे । सामाजिक सुरक्षा योजनाको कार्यान्वयनले अन्य मुलुकको जस्तै नेपालमा पनि उद्यमशीलता बढ्नेमा आफू विश्वस्त रहेको शर्माको भनाइ थियो ।

‘सामाजिक सुरक्षा योजनाले नेपालको विकास र आगमी दश वर्षभित्र हरेक नेपालीले काम गरेर खान पुग्ने आधार तयार भएको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा कोष राष्ट्रिय बचत भएकाले यसको सही सदुपयोग गरेर अघि बढुनुपर्छ ।’

त्यस्तै लघु, घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच राम्रो सम्बन्ध स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । उनले आर्थिक समृद्धितर्फ अघि बढ्ने विषयमा संघका तर्फबाट पूर्ण सहयोग हुने समेत प्रतिबद्धता व्यक्त गरे ।