मन्त्रीपरिषद बैठकको निर्णय : राष्ट्रपति भण्डारीको विदेश भ्रमण स्वीकृत

4.41K
shares

काठमाडौ । सरकारले सोमबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजिनक गरेको छ । बिहीबार आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी संचार मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद्को निर्णयबारे जानकारी गराएका हुन् ।

बैठकले संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धि महासन्धिको २४ औं सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ ।

भ्रमणमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र अन्य सांसदहरु सहभागी हुनेछन् । राष्ट्रपति भण्डारी मंसीर १८ र १९ गते सो सम्मेलनमा सहभागी हुने भनिएको छ । सरकारले नेपाल–भारत सुरक्षा सम्बन्धि द्धिपक्षीय परामर्श समूहको बैठक मंसीर २७ र २८ गते काठमाडौंमा गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ ।

पत्रकार सम्मेलनमा ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ को प्रचारप्रसार र व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ खर्च गरिएको मन्त्री बास्कोटाले जानकारी दिए । बैठकले ‘रेल वे ऐन, २०२०’ खारेज गरी रेल वे सम्बन्धि विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको छ ।