सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा राजपामा अन्योल
वि.सं.२०७५ मंसिर १९ बुधवार १२:२७
shares

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्न नसक्दा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अलमलमा परेको छ । दीपावली, छठ पर्वपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले अब के गर्ने भन्ने निर्णय अझै गर्न सकेको छैन ।
सरकारलाई दिएको समर्थन, आन्तरिक विवाद समाधान, महाधिवेशन, संगठन निर्माण लगायतका विषयमा निर्णय गर्न गत शुक्रबार बसेको राजपा नेपाल अध्यक्षमण्डलको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भयो । राजपा नेपालले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संविधान संशोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर छठ पर्वपछि आन्दोलन थाल्ने चेतावनी दिएको थियो ।
राजपा नेपालले उठाउँदै आएको माग सम्बोधन नभए पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने निर्णय अझै हुन सकेको छैन । राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । यसअघि पनि यस्तैखालको चेतावनी राजपा नेपालले दिँदै आएको थियो । ‘अब यो सरकारलाई दिएको समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन,’ सहअध्यक्ष कर्णले भने, ‘पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।
आफूहरूले सरकारमा जानका लागि समर्थन नगरेको बताउँदै उनले संविधान संशोधन र झुठा मुद्दा फिर्ता हुने सर्तसहित सरकारलाई समर्थन गरेको बताए । तर सरकारले अहिलेसम्म आफूहरूसँग छलफलसमेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी उनले दिए ।















