काम गर्न नसकेर अब सरकारले बुद्धिजीवीलाई पनि धम्क्याउन थाल्यो : नेता ‘सिंह’

4.56K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको कार्यशैलीबाट सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढ्दै गएको बताएका छन् ।

कांग्रेस काठमाडौं क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले गरेको काममा सत्तारुढ दलका नेतामा समेत असन्तुष्टी बढेको बताए ।

“सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले बुद्धिजीवीहरूलाई समेत धम्काउने काम गरेको छ,” उनले बताए । नेता सिंहका अनुसार सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो । “प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी छ,” उनले भने । सिंहले काठमाडौं कांग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताए । स्वर्गीय बज्राचार्य पार्टीका लागि कुशल सङ्गठक भएको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बताए । “बज्राचार्यले दुईपटक वडाअध्यक्ष भएर काठमाडौँको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, बज्राचार्यको कार्यशैलीबाट कांग्रेसले पाठ सिक्नुपर्छ,” उनले भने ।

काठमाडौं कांग्रेस सभापति सबुज बानियाँले काठमाडौंको कांग्रेसको सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । वि.सं. २०११ चैत ११ गते काठमाडौंमा जन्मिएका बज्राचार्यको मस्तिष्कघातबाट विसं २०७४ मङ्सिर १ गते ६३ वर्षको उमेरमा निधन भएको थियो ।