स्थायी कमिटी बैठकमा योगेशको आक्रोस : ‘पार्टीमा कसैलाई अवसरको खातैखात, कसैलाई छिँडीमुनिको बास’

5.15K
shares

काठमाडौँ । स्थायी समिति सदस्य समेत रहेका नेकपा नेता योगेश भट्टराईले पार्टी नेतृत्वले आफूहरुलाई भुत्ते हतियार थमाएर मोर्चामा लड्न पठाएको आरोप लगाएका छन्। शनिबारदेखि जारी स्थायी समितिको बैठकमा मंगलबार बोल्ने क्रममा अध्यक्षद्वयको प्रतिवेदनमाथि टिप्पणी गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्।

‘राजनीतिक प्रतिवेदन भनेको प्रशिक्षण सामाग्रीपनि हो, यसका स्पष्ट भिजन र दृष्टिकोण हुनुपर्छ’ बैठकमा बोल्दै भट्टराईले भने, ‘तर, अध्यक्षद्वयको प्रतिवेदन वैचारिक रुपमा भुत्ते र अस्पष्ट छ, काट्दै नकाट्ने हतियार (प्रतिवेदन) लिएर नेता-कार्यकर्तालाई लड्न जाऊ भनेर हुँदैन, युद्ध जितिँदैन।’ ‘हाम्रा जिम्मेवारी के हुन्, ती कुराहरु स्पष्ट रुपमा उल्लेख गरेर प्रतिवेदन पुनर्लेखन गरेर ल्याउनुस्’ भट्टराईले भने, राजनीतिक प्रतिवेदनलाई राजनीतिक प्रतिवेदनजस्तो बनाउनुस्, अनिमात्र त्यसको आधारमा हामी नेता–कार्यकर्ताहरु जनताको बीचमा जान सक्छौँ।’

भट्टराईले दुई पार्टीबीच तल्लो तहमा एकताका लागि स्पष्ट मापदण्ड निर्माण गरेर जानुपर्नेमा त्यो नभएको भन्दै असन्तुष्टि जाहेर गरे। ‘विधान विधानको भावना अनुसार कार्यान्वयन गरिएको छैन, विधान मिचिएको छ’ उनको भनाई थियो, ‘मापदण्ड बनाएरमात्र जिल्ला र स्थानीय तहमा एकता प्रक्रिया अघि बढाउनु पर्छ।’ पूर्व एमालेमा गुटबन्दी कस्तो थियो र आफ्नो गुटमा नभएका व्यक्तिहरुलाई कस्तो व्यवहार गरिन्थ्यो भन्ने कुरापनि पूर्व एमाले–पूर्व माओवादी केन्द्रका नेताहरु सहभागी स्थायी समिति बैठकमा उनले जानकारी दिएका थिए।

‘म महाधिवेशनबाट निर्वाचित पार्टीको सचिव थिएँ, प्रचार विभागको प्रमुख बनाइएँ, पार्टी एकतापछि त्यो जिम्मेवारी खोसियो’ भट्टराईले भने, ‘पक्का छ, यो स्थायी समिति (एमालेका) नेताहरुबाट छनोट हुने भएको भए म यहाँ हुने थिइन। पहिले निर्वाचित सचिव भएकाले मात्र नेकपाको स्थायी समिति सदस्य भएको हुँ।’

घनश्याम भूषाल, आफू लगायतका कतिपय नेताहरु जिम्मेवारीविहीन भएपनि शीर्ष नेता निकट भएकै कारण पार्टीभित्र कसैलाई जिम्मेवारीको खातैखात र जिम्मेवारीको हिसावले कसैको छिँडीमुनिको बास भएको पनि बताएका थिए।