भीम रावलले ओलीलाई सोधे, मन्त्री ज्ञवालीको अमेरिका भ्रमण किन ?

4.39K
shares

काठमाडौं । नेकपाका नेता भीम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण र त्यस क्रममा मन्त्री ज्ञवालीले गरेका भेटघाट र गतिविधिबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । नेकपाको जारी स्थायी समितिको शुक्रबार बैठक सुरु भएलगत्तै समय माग गरेर बोलेका रावलले परराष्ट्र मन्त्री ज्ञवालीको अमेरिका भ्रमणकोबारे बैठकमा जानकारी दिन अध्यक्षसँग आग्रह गरेका हुन् ।

‘प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको खास कुरा के हो ? मिडियामा इन्डो प्यासिफिकको रणनीतिक मोर्चामा नेपाललाई सामेल गर्ने प्रस्ताव गरेको र हामीले सांकेतिक समर्थन गरेको भन्ने कुरा बाहिर आएको छ । त्यसबारे सरकारले प्रष्ट पार्नु पर्यो,’ रावलले बैठकमा जवाफ खोजेका थिए । जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्यस्तो नीति रहेको बताए । ‘हाम्रो त्यस्तो नीति हुनै सक्दैन । बाँकी कुरा उहाँ फर्केपछि उहाँले नै भन्नुहुन्छ,’ ओलीको जवाफ थियो ।

अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्ने सहमति भएको प्रतिकृया दिएका थिए । मंगलबार परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच वाशिङ्टन डिसीमा यस्तो सहमति भएको थियो । दुई देशका परराष्ट्रमन्त्रीबीच ‘मिलेनियम च्यालेञ्ज कोअपरेशन’को कार्यान्वयन र यसबाट लाभ हासिल गर्ने विषयमा पनि छलफल भएको थियो ।

अमेरिकासँगको सहमतिपछि परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘अमेरिका र नेपालबीचको सम्बन्धलाई साझा अठोटका साथ अझ फराकिलो बनाउँदै लगेर पारस्परिक हितमा काम गर्न साझा प्रतिबद्धता जनाएका छौँ । त्यस्तै अर्का नेता घनश्याम भुषालले प्रदेश कमिटीले नै पूर्णता नपाइ जिल्ला कमिटी, नगर तथा गाउँ कमिटी गठन गरेको समाचारहरु आइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए । ‘त्यो रोक्नुपर्छ । प्रदेश कमिटी नै फाइनल भएको छैन ।

भुषालको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यसअघि नै प्रदेश कमिटीलाई परिपत्र गरिएको भन्दै पत्राचार आधिकारिक भएको बताएका थिए । ‘प्रदेश कमिटीको निर्णय आधिकारिक हो । मान्ने नमान्ने यहाँ छलफल हुन्छ । आजसम्म परिपत्र अनुसार नै काम भएको छ,’ ओलीको भनाई थियो । शुक्रबार नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083