कम्युनिष्टको निरंकुशता विरुद्ध लड्न कार्यकर्तालाई देउवाको निर्देशन

5.45K
shares

काठमाडौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टीमा एकताको सन्देश प्रवाह भएको बताएका छन् । मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा समापन गर्दै सभापति देउवाले कम्युनिष्ट निरंकुशताविरुद्ध लड्न तयार रहन आग्रह गरेका छन्। उनले अब सदस्यहरुले बुथबाटै जितेर आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

उनले सबै क्लस्टरले अधिकार पाएका र अब सोही अनुसार गाउँमा गएर सदस्यता बढाउन सके आगामी निर्वाचनमा कांग्रेसले पहिलो पार्टी बन्ने दाबी गरे । उनले पार्टीभित्र अन्तर्घात बढेको र यसमा सुधार गर्नुपर्ने पनि औँल्याए ।

उनका अनुसार पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ । साथै उनले अब कम्युनिष्ट सरकारको निरंकुशताविरुद्ध लड्नका लागि तयार कार्यकतालाई आग्रह गरेका छन् ।

उनले कम्युनिस्ट सरकार निरंकुशरुपमा अघि बढिरहेको बताउँदै यसबिरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले भने, ‘वर्तमान सरकार जनअपेक्षा विपरित निरंकुश ढंगले निर्णय गरिरहेको छ। यस्तो निरंकुशताविरुद्ध लड्न सम्पूर्ण कांग्रेसीहरु तयार रहन आवश्यक छ । प्रधानमन्त्री केपी ओली जीले आफ्ना पार्टीका मान्छेहरुलाई दुःख दिइरहेका छन् । अरुलाई के गर्लान् र?’

त्यसैगरी समापन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान विश्वकै नमुना भएको बताउँदै पार्टी चलाउन भावनात्मक एकता पनि चाहिने बताएका छन् । साथै उनले महासमिति बैठकबाट कमी कमजोरी हटाउन महत्वपूर्ण सहयोग गरेको बताए ।

नेता पौडेलले विगतका गल्तीहरुबाट पाठ सिक्दै कांग्रेसले क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने जोड दिए उनले भने, ’पुस १६ गते हुने एकता दिवसदेखि नै सदस्यता वितरण गर्नुपर्दछ । पास भएको विधान बमोजिम पार्टीको संरचनालाई पूर्णता दिनुपर्दछ ।’

नेता पौडेलले अहिलेदेखि नै देशभर संगठन विस्तार गर्ने र गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरी कांग्रेसलाई सक्रिय बनाउनुपर्ने बताए । यस्तै कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीले ढिलै भएपनि विधान पास गरेकोमा खुशी व्यक्त गरेकी छन् । उनले कांग्रेसको सिद्धान्त र वीपीको मार्गअनुसार अघि बढे आगामी चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने दाबी गरिन् । साथै उनले कसैको आलोचना गर्नुपरे व्यक्ति जीवितै भएको बेला गर्नुपर्ने बताइन् । यस महासमितिले पार्टीलाई एकताबद्ध गरी नयाँ उर्जा थपेको नेतृ कोइरालाले बताइन् ।

महासमिति बैठकले महामन्त्री शशांक कोइरालाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्री रामशरण महतद्वारा प्रस्तुत विशेष आर्थिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कांग्रेसले बैठकको अन्तिम दिन पार्टीको विधान पारित गर्दै महासमिति बैठक समापन गरेको हो । जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह–महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता गरि १५ सदस्यीय पदाधिकारी हुने भएको छ ।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्ता निर्वाचित केन्द्रीय सदस्य मध्येबाट बहुमतले अनुमोदन हुनेछन् । यससँगै केन्द्रीय समिति १६७ जनाको हुने भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083