प्रतिबन्ध कायम रहे आफ्नै बाटो हिँड्ने उत्तर कोरियाको चेतावनी
वि.सं.२०७५ पुस १७ मंगलवार १२:३३
shares

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ–उनले डोनल्ड ट्रम्पसँग आणविक निःशस्त्रीकरण वार्ता चलिरहने आशा गरेका छन् । नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै उनले उत्तरविरुद्ध अमेरिकाले प्रतिबन्ध कायमै राखेमा आफूहरू नयाँ बाटो हिँड्न बाध्य हुने उनको भनाइ छ ।
कालो सुट लगाएर छालाको कुर्सीमा बसेका किमले आफू अमेरिकी राष्ट्रपतिलाई कुनै पनि बेलामा भेट्न तयार रहेको बताए । अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्ने किसिमको परिणाम ल्याउनका लागि यो भेटघाट गर्ने उनले बताए । तर वाशिङटनले आफ्ना प्रतिज्ञालाई तोडिरहेमा अनि आफूहरूको धैर्यको गलत मूल्यांकन गरिरहेमा र एकपक्षीय रूपमा निश्चित कुराहरू मागिरहेमा तथा प्रतिबन्ध र दबाबलाई अघि बढाइरहेमा आफूहरू सार्वभौमसत्ताको सुरक्षाका लागि नयाँ बाटो हिँड्नुको विकल्प नरहेको उनले थपे ।
किम र ट्रम्पले सिंगापुरमा गत वर्षको जुन महिनामा उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धताका सम्बन्धमा अस्पष्ट किसिमको वक्तव्य जारी गरेका थिए । तर निःशस्त्रीकरणको परिभाषा र कुन पक्षले पहिला छुट दिनुपर्ने हो भन्ने विषयमा असहमति हुँदा वार्ताहरू अड्किएका छन् ।
प्योङयाङले आफूमाथि लगाइएको प्रतिबन्धलाई वाशिङटनले हटाउनुपर्ने तथा सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धको आधिकारिक अन्त्य गर्नुपर्ने माग राखेको छ । अमेरिकाले भने उत्तरबाट आणविक निःशस्त्रीकरणको प्रतिबद्धता प्रदर्शन हुनुपर्ने माग राखेको छ ।































