मन्त्री अधिकारीको लाउड काण्ड देखि साउथ काण्ड सम्मः अझै अर्को ठूलो काण्ड पर्दाफास हुदै
वि.सं.२०७५ पुस १८ बुधवार १९:२४
shares

काठमाडौं ।नेपालमा हुने गरेका ठूला भ्रष्टाचार काण्डमा नेपाल वायु सेवा निगम जोडिँदै आएको छ । लाउडा एयर काण्ड भएको झण्डै दुई दशकपछि नेपालमा भ्रष्टाचारको अर्को ठूलो काण्ड पर्दाफास हुने चरणमा छ ।
के थियो लाउडा काण्ड
नेपाल वायुसेवा निगमसँग आफ्नै दुईवटा जहाज रहेको र चाइना साउथ वेस्ट कम्पनीसँग अर्को एउटा विमान ल्याउने सम्झौता भइसकेको अवस्थामा निगमलाई आवश्यक नभएको चौथो विमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भयो । विमान खरीदमा भ्रष्टाचार भएको भन्दै प्रतिपक्षी दलले संसद्मा लामो विरोध ग¥यो । लेखा समितिले लाउडा प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्यो ।
लेखा समितिको प्रतिवेदनलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ सालमा नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठ, तत्कालीन पर्यटनमन्त्री तारिणीदत्त चटौत, सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठ, सिद्धराज जोशी, गौरीनाथ शर्मा, मार्केटिङ निर्देशक रामराज उपाध्याय, अर्थ निर्देशक उपेन्द्र उपाध्याय र कर्पोरेट विभाग निर्देशक पुष्करप्रसाद वाग्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
लाउडा एयरका दुई अधिकारीलाई विपक्षी बनाइएको मुद्दामा अख्तियारले उनीहरूसँग ३८ करोड ९७ लाख बिगो माग दाबी गरेको थियो । यो प्रकरणमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि संलग्न रहेको चर्चा त्यतिबेला थियो ।
धमिजा काण्ड
नेपाल वायु सेवा निगमसँग जोडिएको अर्को प्रकरण धमिजा काण्ड हो । २०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निगमको कामकारबाहीमा हस्तक्षेप गरेर भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजाको फेयर लिमिटेडलाई मनोमानी ढंगले निगमको युरोपका लागि मुख्य एजेण्ट नियुक्त गरेपछि यसले काण्डको रूप लिएको थियो । धमिजा प्रकरणमा पनि निगमले ३९ करोड ५५ लाख घाटा व्योहोरेको थियो ।
लेखा समितिले भ्रष्टाचार भएको ठहर गरेपनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा कोइरालालाई ‘क्लिन चिट’ दिएको थियो । यो काण्डमा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि मुछिएकी थिइन् । धमिजा काण्डपछि नेपाली कांग्रेसको खास गिर्दा सोही वर्षको मंसिरमा सम्पन्न मध्यावधि निर्वाचनमा धक्का खान पुग्यो । धमिजा प्रकरणलाई पनि संसद्को लेखा समितिले बाहिर ल्याएको थियो ।
चाइना साउथ वेस्ट काण्ड
नेपाल वायु सेवा निगमसँग जोडिएको अर्को पनि काण्ड छ– चाइना साउथवेस्ट । २०५५ सालमा कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बी।के।मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि विना टेण्डर चाइना साउथवेस्ट एअरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरियो । त्यो बेला एमालेका भीम रावल पर्यटन मन्त्री थिए । चाइना साउथवेस्ट प्रकरणमा निगमले रु २२ करोड नोक्सानी व्योहोरेको थियो ।
४ अर्ब ३५ करोडको वाइडबडी काण्ड
नेपाल वायु सेवा निगमसँग जोडिएको र अहिलेसम्मकै सबभन्दा ठूलो काण्ड बनेको छ– वाइडबडी काण्ड । नेपाल वायु सेवा निगमका लागि दुईवटा विमान खरीद गर्दा सार्वजनिक खरीद ऐनको उल्लंघन गरी ४ अर्ब ३५ करोड अनियमितता भएको संसद्को लेखा समिति अन्तर्गत गठित उपसमितिले निष्कर्ष निकालेको छ ।
विमान खरीद अनियमिततामा बहालवाला र दुई पूर्वमन्त्री, बहालवाला सचिवसहित वायु सेवा निगमका कार्यकारी निर्देशक समेतको संलग्नता रहेको लेखा समिति अन्तर्गतको उपसमितिको निष्कर्ष छ । उपसमितिको प्रतिवेदन समितिले अनुमोदन गरेमा दोषीमाथि कारवाही गर्न सरकारलाई दबाब पर्नेछ ।
संसदीय समितिको निर्देशन कार्यान्वयन गर्नु सरकारको बाध्यता हुन्छ । संसदीय समितिको प्रतिवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाउन सक्छ ।



















