सपथ ग्रहणपछि रेशम चौधरीलाई रिहा गर्न उपेन्द्र यादवले ओलीलाई दिए यस्तो दवाब
वि.सं.२०७५ पुस १९ बिहीवार १२:३५
shares

काठमाडौं। उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् । आफूलगायत सबैतिरबाट पहल भएपछि चौधरीलाई सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।
हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवले बताए । यादवले भने-‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ ।
जेलमा रहेका बेला चुनाव लड्नसमेत पाइने बताउँदै मन्त्री यादवले जेलमा रहेका बेला सपथ ग्रहण गर्न कानूनले नछेक्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री यादवले भने-‘जेलमा हुँदाखेरि उम्मेदवारी दिन मिल्छ, सपथ ग्रहण गर्न किन मिल्दैन ? यो कानूनमा अमिल्दो विषय होइन । जेलमा बसेर चुनाव लड्न मिल्छ भने चुनाव जितेपछि जेलमा बसेर सपथ लिन मिल्छ।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले अगाडि भने, ‘सपथ ग्रहण जहाँ गराए पनि हुन्छ । तर, सपथ ग्रहणपछि संसदमा उपस्थित नगराई जेलमै लैजानुपर्ने कारणचाहिँ किन ? यो प्रश्नमा उपप्रधानमन्त्री यादवको जवाफ छ, ‘यो त गृहमन्त्रालयलाई थाहा हुन्छ ।




























