‘भ्रष्टचारी मन्त्रीसँग बदला लिन म एक्लै काफी छु’ : सचिव झा
वि.सं.२०७५ माघ १ मंगलवार १२:१९
shares

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विषयमा छानबीन सुरु भएको छ। आइतबार अपराह्न करिब तीन बजे भएको उक्त घटनावारे छानबीन गर्न तत्कालै बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको थियो। प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदी तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँल सदस्य रहेको उक्त समितिले सोमबार देखि घटनाको छानबीन सुरु गरेको मन्त्री यादवले बताए।
‘घटनासँग सम्बन्धित आर्थिक मामिला तथा योजना मन्त्रीजी सँग भेटेर कुरा बुझेका छौं’ समितिका संयोजक समेत रहेका मन्त्री यादवले भने, ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवसँगै घटनाका प्रत्यक्षदर्शी माननीय सभामुख र सांसद उपेन्द्र महतोजीसँग पनि भेटेर निष्कर्षमा पुगिन्छ।’ मन्त्री यादवले घटना विवरणको आधारमा जो-कोही दोषी देखिए पनि कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे। यसैबीच, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले घटनाको विरोध गर्दै दोषी उपर कारवाहीको माग सहित मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन्।
‘मन्त्रीकै कार्यकक्षमा एक सचिव माथि हातपात हुने घटनाले समग्र कर्मचारीहरुको मनोबल गिरेको छ’ ज्ञापनपत्रमा लेखिएको छ, ‘उक्त घटनाको छानबीन गरी दोषी उपर कारवाही होस्। २४ घण्टाभित्र दोषीको पहिचान गरी कारवाही प्रक्रिया अघि नबढे हामी सश क्त आन्दोलनमा उत्रिन्छौं।’ ज्ञापन पत्रमा युनियनका धनुषा अध्यक्ष रामबाबु साह, महोत्तरी अध्यक्ष राजीशरण यादव, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका धनुषा अध्यक्ष धनेश्वर यादव, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष नवलकिशोर यादव लगायतले हस्ता क्षर गरेका छन्।
गएको शनिबार दिउँसो मेरो मोबाइलमा फोन आयो। ‘सर कत छी, हमरा अखने अहाँ सँ भेट कर के हब (सर कहाँ हुनुहुन्छ, अहिले नै तपाइ सँग मैले भेट्नुपर्ने छ।)’ मैले नाम सोधेपछि वन सचिव बोलेको ठाडो भाषामा जवाफ आयो। मैले निवासमै रहेको जवाफ फर्र्काएँ र आउन अनुमति दिएँ। तर, उहाँ आउनु भएन। पटक पटक गरी तीन पटक उहाँको फोन आयो र आफु लोकल भएको धाक लगाउँदै तथानाम कुरा गर्नुभो। एकछिन पछि मोबाइलमा अंग्रेजी भाषामा लेखिएको एसएमएस सन्देश आयोः तपाइ फलानो मन्त्री भनेर मैले थाहा पाएको थिइन, माफ गर्नु होला।
आइतबार म मन्त्रालयमै बसिरहेको थिएँ। सँगै सभामुखजी र माननीय उपेन्द्र महतो जी पनि हुुनुहुन्थ्यो। झाजी ९सचिव० आएर सोझै सभामुखको छेउमा अभद्र तरिकाले बसिदिनुभयो। उहाँले सभामुखजीलाई चिन्न नसकेको जस्तो लागेर मैले परिचय गराइदिए, उहाँले पछि सभामुखजीलाई नमस्कार पनि गर्नुभो र बाहिर जानुभो। मलाई कैबिनेट बैठकमा जानुपर्ने थियो, सचिवजीलाई भित्र बोलाएर के भन्नु छ भनेर सोधें। उहाँले एनजिओहरुको विषयमा आफुमाथि गलत आरोप लागेको भन्दै भन्नुभयो, ‘मैले आन्दोलन गरेर आज तपाइ यो कुर्सीमा बसिरहनु भएको छ।
यो फाइल हेर्नुस्’ भन्दै एउटा फाइल मेरो टेवुलमा बजार्नुभो। मैले यो के को फाइल हो भनेर सोधे पनि उहाँ आउट अफ कन्ट्रोल हुनुहुन्थ्यो। एकोहोरो अभद्र व्यहार प्रदर्शन गरिरहेपछि मेरो र सभामुखजीको अगंरक्षकहरुले उनलाई घचेट्दै बाहिर निकालेका हुन्। बाँकी उनले के भन्छ, त्यो छानबीन समितिले अध्ययन गर्ने विषय हो। तर, सार्वजनिक रुपमा मेरो मानमार्दन हुनेगरी तथानाम गाली गलौज गरेका छन्, त्यसप्रति म अत्यन्तै दुःखी छु। कर्मचारीले दायरा नाघ्नु हुँदैनथ्यो। यतिका गतिविधि म र सचिवबीच मात्रै सिमित छैन। एक जना पत्रकारसमेत अन्य व्यक्तिहरु पनि हुनुहुन्छ देख्ने। पत्रकारले भिडियो पनि खिच्नुभाको छ।
शनिबार मैले मुख्यमन्त्रीजीको पिए दिपक यादवलाई फोन गर्न खोजेकोमा धोकावश आर्थिक मामिला मन्त्रीजीलाई फोन गएछ। पछि थाहा पाएपछि मैले एसएमएस मार्फत माफी मागेको हुँ। आइतबार अपराह्न करिब दुई बजे तिर उहाँ (मन्त्री यादव) ले एक जना सहयोगी मार्फत मलाई आफ्नो कार्यकक्षमा बोलाउनु भयो। म त्यहाँ पुग्दा सभामुख र एक जना प्रदेश सांसद पनि उहाँकै कार्यकक्षमा बसिरहनु भएको थियो। म सभामुख जीको छेउमा बस्न पुगेछु। पछि उहाँ सभामुख रहेको थाहा पाउने बित्तिकै म उठेर बाहिर निस्कें।
एक छिन पछि मन्त्रीजीले फेरी मलाई बोलाउनु भयो र सिधै गाली गर्दै मेरो एनजिओलाई किन कार्यक्रम नपारेको भन्दै तथानाम गाली गर्दै मेरो गालामा जोडले एक झापट हान्नु भो। त्यसपछि मैले पनि रिसमा आएर गाली गरेको हुँ। मन्त्रीले मन्त्री जस्तो व्यवहार नदेखाएपछि मैले गाली मात्रै गरेको हुँ। तर, सँधै म कर्मचारीको रुपमा बसिरहने होइन। बाहिर निस्केपछि त्यो मन्त्रीलाई ठेगान लाउन मैले राम्ररी जानेको छु। मैले गरेको आन्दोलनको बलमा ऊ आज मन्त्रीको कुर्सीमा बसेको हो। म धेरै खराब मान्छे हुँ, विजय यादवले मलाई चिन्नै सकेको छैन। मलाई कसैले धाक देखाउन सक्दैन। मन्त्रीसँग बदला लिन म एक्लै काफी छु।





























