‘भूकम्पीय जोखिम घटाउन सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनुपर्छ’ : गृहमन्त्री थापा

5.11K
shares

काठमाडौं । १९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरिएको छ । गृहमन्त्री रामबहादुर थापा, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँगै उच्च अधिकारीहरुबीच स्मृति सभा सम्पन्न गरिएको हो । स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनु पर्नेमा जोड दिए ।

‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ । यो अवस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो, ’ मन्त्री थापाले भने ।

सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यलेभवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गरे । अब महानगरसँग स्वीकृति नलिइ कुनै पनि प्रकारका (चाहे सरकारी हुन् या निजी) भवन बनाउन पाइदैन । हामीले नेपाली सेनाका भवनहरुलाई पनि प्रक्रियामा ल्याएका छौं । भूकम्प प्रभावितको नक्सा दस्तुरमा छुट दिएका छौं । मेयर शाक्येल थप्दै भने, ‘बरु नक्सा स्वीकृत गर्दा लाग्ने दस्तुरलाई अनुदानमा रुपान्तरण गर्न सक्छौं तर स्वीकृति नै नलिइ भवन बनाउन दिन सक्दैनौं ।’

महानगरले सम्भावित क्षति न्युनीकरणका लागि वडास्तरीय विपद् क्षति व्यवस्थापन सीप सिकाइ र क्षमता विकास गर्ने कामलाई अघि बढाएको छ । सभामा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीब्रता पाइरहेको जानकारी दिए ।

सोही अवसरमा गृहमन्त्री थापा र महानगरका मेयर शाक्यले संयुक्त रुपमा महानगरको विपद् व्यवस्थापन विभागले प्रकाशनमा ल्याएको आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका सार्वजनिक गरेका थिए ।

१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २१ औँ भूकम्प सुरक्षा दिवस हो । यस बर्षको नारा ‘बिपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083