यात्रु बोक्ने मोटरसाइकललाई प्रतिबन्ध नलगाउन प्रधानमन्त्रीको निर्देशन

4.81K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन दिएका छन् । दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘प्रधानमन्त्रीज्युले टुटल र पठाओकै विषयमा त बोल्नुभएको होइन, तर मोटरसाइकलमा यात्रुहरु बोक्न नदिएको गुनासो सुनिएको छ भन्दै यसमा रोक नलगाउन निर्देशन दिनुभएको हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको एक कार्यक्रममा उपस्थित भएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र गृहमन्त्री रामबहादुर थापा बादल दुबै जनालाई त्यस्तो निर्देशन दिएका हुन् । मोटरसाइकलमा सवार व्यक्ति प्यासेन्जर हो वा हैन भनेर छुट्याउने कुनै संयन्त्र नभएको भन्दे प्रधानमन्त्री ओलीले यो विषयलाई बढ्ता नउचाल्न र यथास्थितिमै राख्न मन्त्री महासेठलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै अधिकारीले भने, ‘व्यवस्थित नगरी यसमा रोक लगाउनुहुदैन, यसले भ्रम सिर्जना गर्छ । यस्तो कुरालाई स्टप गर्नोस् ।’ निश्चित विधि र नियम बनाएर यसलाई लागू गर्नुपर्ने बताउदै प्रधानमन्त्री ओलीले भ्रम सिर्जना गर्ने खालका गतिविधि नगर्न मन्त्रीहरुलाई भनेका छन् ।

मन्त्रीहरुमाथि प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘मोटरसाइकलको पछाडि बसेको मान्छे बहिनी, श्रीमती हो कि ? कोही आफन्त हो कि ?वा अरु नै हो भनेर कसरी छुट्याउने ?’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083