विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछि नलाग्न सभापति देउवाको आग्रह

4.67K
shares

दमौली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन्। तनहुँ काङ्ग्रेसले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए। विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए।

सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए। महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको यो विधान काङ्ग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए।

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ‘सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले ’ उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै काङ्ग्रेसको हारको मुख्य कारण हो भन्दै कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा काङ्ग्रेस आज यो अवस्थामा पुगेको बताए। तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उनीहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए।

काङ्ग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, शङ्कर भण्डारी, प्रदीप पौडेल, जीवन परियार, पूर्वकेन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीलगायतले काङ्ग्रेसको जनआधार अहिले पनि बलियो रहेकाले चुनावको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083