कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक भोलीसम्मको लागि स्थगित

7.23K
shares

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठकमा कांग्रेसले दुई पटकसम्म अवरोध गरेको छ । सोमबार डाकिएको बैठकमा कांग्रेसले दुई पटकसम्म अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले भोली मंगलबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबार मध्यान्ह १२ बजे बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख महराले १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि दिउँसो २:३५ बजे बसेको अर्को बैठकमा पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

सभामुख महराले आजको बैठकमा चिकित्सा शिक्षा विधेयकको मात्रै कार्यसूची राखेर बैठक गराउने पटक पटक भने पनि कांग्रेस सांसदहरु पछि नहटेपछि बैठक भोलीसम्का लागि सरेको हो ।

यसअघि पहिलो पटक बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसका संस्थापकहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदान र इतिहास सरकारले मेटाउन खोजेको आरोप लगाएका थिए ।

‘हाम्रा संस्थापक नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको स्मृतिमा खोल्ने निर्णय गरिएको दुई अस्पताल खारेज गर्ने निर्णय गरेर यो सरकारले गम्भीर गल्ती गरेको छ’, गच्छदारले भने, ‘यो निर्णय नसँच्चिएसम्म हामी बैठक अघि बढ्न दिँदैनौँ, सरकारले यी दुई अस्पताल अघि बढाउनुपर्छ ।’

आफ्ना नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई प्रधानमन्त्री ओली ढाँटेको आरोप लगाउँदै उपनेता गच्छदारले नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलमा उच्च योगदान दिँदै नेतृत्व गरेका नेताको नाममा खुलेको अस्पताल कुनै हालतमा खारेज गर्न नपाइने बताए ।

‘प्रधानमन्त्रीले संसदमा झुठो बोल्न पाइँदैन, गिरिजाप्रसाद कोइरालालाई राज्यले विर्सन मिल्दैन । यो सरकारले गिरिजाप्रसादको नेतृत्वमा भएको सम्पूर्ण परिवर्तनलाई मेटाउन खोजेको छ’, गच्छदारले भने, ‘सार्वभौम संसदको अपमान भएको छ । सुशील कोइराला स्मृति क्यान्सर अस्पताल कुन कारणले अघि बढाउने निर्णय हुन सकेन ? जसको नेतृत्वमा संविधान जारी भयो, उसलाई नै मेटाउन खोजियो ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083