कृषिप्रधान देशमा ७०० करोडको तरकारी आयात, ११ करोडको निर्यात
वि.सं.२०७५ माघ २५ शुक्रवार ११:०९
shares

काठमाडौं । ५ महिनामै सवा ३ अर्बको आलु आयात
आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसियालगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट ३ अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै, बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको तथ्यांक छ ।
अघिल्लो वर्ष भारतबाट ३ अर्ब ३७ करोड र बंगलादेशबाट १७ करोडको आलु आयात भएको थियो । स्वदेशी आलु उत्पादन बिस्तारै बढ्दै गएको छ । व्यवसायीका अनुसार अहिले स्वदेशी उत्पादनले ६ महिनाको माग धान्ने गरेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक ३० लाख ८८ हजार टन आलु उत्पादन हुने गरेको छ । तर, बाह्रै महिना आयात हुने तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।
प्याजका लागि भारत र चीनमा निर्भर
प्याज भने नेपालमा भारत र चीनबाट आयात हुने गरेको छ। यद्यपि, अघिल्लो वर्ष भने इस्ले अफ म्यान नामक मुलुकबाट समेत आयात भएको देखिन्छ। चालू आवको पाँच महिनामा भारतबाट २ अर्ब १९ करोडको प्याज आयात भएको छ । अघिल्लो आवमा भने भारतबाट ३ अर्ब ९ करोड, चीनबाट ५६ करोड ३६ लाख र इस्ले अफ म्यानबाट ११ लाख रुपैयाँको प्याज आयात भएको थियो। प्याजको उत्पादन वृद्धि गर्न सरकारको कुनै कार्यक्रम छैन। व्यवसायीका स्वदेशी उत्पादनले १ महिनाको माग पनि धान्न सक्दैन।
करोडौँको गोलभेँडा आयात
नेपालमा सबैभन्दा बढी गोलभेँडा भारतबाट आयात हुने गरेको छ। यद्यपि, सानो परिमाणमा चीन, इटलीलगायत मुलुकबाट पनि गोलभेँडा आउने गरेको छ। भन्सार विभागका अनुसार गत पाँच महिनामा नेपालले भारतबाट २४ करोड रुपैयाँको गोलभेँडा आयात गरेको छ। त्यस्तै, चीनबाट १६ लाख र इटलीबाट २३ लाख रुपैयाँको गोलभेँडा आयात गरेको विभागको तथ्यांक छ।
व्यवसायीका अनुसार कुल मागको ६० प्रतिशत गोलभेँडा स्वदेशी उत्पादनले धान्ने गरेको छ। अर्थात् वर्षभरमा सात महिना स्वदेशकै गोलभेँडा खपत हुने स्थिति बनेको छ।
सवा करोडको काउली र बन्दा आयात
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ लाख ५८ हजार केजी काउली आयात भएको छ। त्यस्तै, २ लाख ६० हजार रुपैयाँबराबरको २३ हजार केजी बन्दा आयात भएको छ। अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा नेपालमा ६५ लाख ६९ हजार रुपैयाँबराबरको ४ लाख ५४ हजार केजी काउली र ६१ लाख २४ हजारको ५ लाख ७६ हजार केजी बन्दा आयात भएको भन्सार विभागको तथ्यांक छ।
काउली र बन्दामा मुलुक आत्मनिर्भर छ। कहिलेकाहीँ थोरै मात्रामा आयात हुने गरेको व्यवसायीले बताए। ‘काउली, बन्दा, मूला र हरियो सागपातमा मुलुक आत्मनिर्भर छ,’ घिमिरेले भने। चीनबाट वर्षमा साढे चार अर्बको र भारतबाट ९३ करोडको स्याउ आयात, अमेरिकाबाट अढाई करोडको स्याउ आयो तर, जुम्ला, हुम्लाका स्याउले बजार पाएन, एक रुपैयाँको पनि नेपाली स्याउ निर्यात भएन।
-स्याउ चीन, भारत, इटली, थाइल्यान्ड, नामिबिया र अमेरिकाबाट आयात हुन्छ। चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले चीनबाट १ अर्ब ३१ करोड, भारतबाट १ अर्ब २५ करोड, नामिबियाबाट ६९ हजार र इटलीबाट २ लाख ३९ हजार रुपैयाँको स्याउ आयात गरेको छ। अघिल्लो आवमा चीनबाट ४ अर्ब ६६ करोड, भारतबाट ९३ करोड ७६ लाख, अमेरिकाबाट २ करोड ६१ लाख, इटलीबाट ४ लाख ९६ हजार र थाइल्यान्डबाट २ लाख ५१ हजार रुपैयाँको स्याउ आयात भएको विभागको तथ्यांक छ।
मुलुकमा उत्पादित स्याउले कुल मागको ५ प्रतिशत पनि धान्न सकेको छैन। अहिले स्याउ उत्पादनमा सरकारले विशेष कार्यक्रम ल्याएको छ । १ वर्षमै उत्पादन दिने १ लाख स्याउका बिरुवा आयात गरी किसानलाई वितरण गर्ने सरकारी योजना छ।-चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा ५ अर्ब ७१ करोडको फलफूल आयात भएको छ। भन्सार विभागका अनुसार सबैभन्दा बढी २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ। त्यस्तै, ५९ करोडको केरा, १७ करोडको आँप, ३२ करोडको सुन्तला र ३० करोडको कागती आयात भएको छ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा ९ अर्ब रुपैयाँबराबरको फलफूल आयात भएको थियो। गत वर्षमा ५ अर्ब ६३ करोडको स्याउ, ५३ करोडको केरा, ८९ करोड ४७ लाखको अंगुर, १६ करोड १२ लाखको खरबुजा, १ करोडको भुइँकटहर, ९ करोडको नासपाती, ५२ करोडको आँप, ५७ करोडको सुन्तला, ४३ करोडको कागती, ४० करोडको नरिवल, १ अर्ब ४० करोडको अन्य फलफूललगायत आयात गरेको थियो ।
सोही अवधिमा चिया र कफीमै १८ करोड ६८ लाख रुपैयाँ बिदेसिएको छ। -तर, फलफूलमा मुलुकले प्रगति गर्दै आएको व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार अहिले ७५ प्रतिशत माग स्वदेशी उत्पादनले धानिरहेको छ। विदेशबाट एक अर्ब ८२ करोडको दूध आयात तर, नेपाली किसानले बजार नपाएर सडकमा पोख्छन् दूध भारतदेखि बेल्जियम, बेलारुस, बेलायत,अस्ट्रेलियासम्मको दूध नेपाली बजारमा
नेपाली किसान उचित मूल्य र बजार नपाएको भन्दै सडकमै दूध पोख्न बाध्य छन्। बजारमा भने विश्वका थुप्रै मुलुकबाट पाउडर, क्रिम, लिक्विडलगायत विभिन्न रूपमा दूध आयात हुने गरेको छ। पछिल्ला पाँच महिनामा नेपालले ४४ करोड रुपैयाँबराबरको दूध आयात गरेको छ। यस अवधिमा भारतबाट ३२ करोड, बेलारुसबाट ३ करोड, बेल्जियमबाट १ करोड, पोल्यान्डबाट २ करोड, न्युजिल्यान्डबाट ७७ लाख, बेलायतबाट ८९ लाख, स्विडेनबाट ९९ लाख, अस्ट्रेलियाबाट ५६ लाख, नेदरल्यान्डबाट ३८ लाख, मलेसियाबाट ३१ लाख र थाइल्यान्डबाट १२ लाख रुपैयाँबराबरको दूध आयात भएको छ।
अघिल्लो आवमा नेपालले कुल १ अर्ब ८२ करोड रुपैयाँबराबरको दूध आयात गरेको थियो। दूधमा मुलुक आत्मनिर्भरउन्मुख छ। अहिले वार्षिक रूपमा २० लाख ७० हजार मेट्रिकटन उत्पादन भइरहेको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए। उनका अनुसार आत्मनिर्भर हुन २५ लाख मेट्रिकटन उत्पादन चाहिन्छ।













