क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग खेल्न युएई जादैँ
वि.सं.२०७५ फागुन ६ सोमवार १७:०७
shares

काठमाडौं । अष्ट्रेलियामा सम्पन्न बीग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अब पाकिस्तान सुपर लिग खेल्न युएई जाने भएका छन्।
बीग ब्यासमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले टिमलाई फाइनलसम्म पुर्याएका थिए। तर फाइनलमा मेलबर्न रेनेगाडेससँग पराजित हुँदै उपविजेतामा सिमित भयो।
लिगमा सुरूका चार खेल खेल्दै ८ विकेट लिएर सनसनीपूर्ण सुरूवात गरेका उनले खेललाई बिचमै छोडेर बंगलादेश प्रिमियर लिग खेल्न गए। बंगलादेशमा सिल्हेट सिक्सर्सबाट ६ खेल खेलेका उनले ४ विकेट लिए। बंगलादेश प्रिमियर लिग पनि बीचमै छाडेर नेपाली राष्ट्रिय टिमले खेलेको यूएई सिरिजका लागि दुबई गए।
नेपाली टोली सिरीज जितेर घर फर्किए पनि सन्दीप दुबईबाटै अष्ट्रेलिया पुगेका थिए। सुरुमा चार र पछिल्ला चार खेलमा गरी बीगबासमा मेलवर्न स्टार्सका लागि उनले ८ वटै इनिङ्स खेल्दै ११ विकेट लिएका थिए। सुरूका चार खेलमा ८ विकेट लिएका सन्दीपले यूएईसिरिज पछि समूह चरणको अन्तिम खेलमा टिम ‘गर या मर’को अवस्थामा महत्वपूर्ण तीन विकेट लिँदै टिमलाई सेमिफाइनलमा स्थानमा पुर्याएका थिए।
तर, सेमिफाइनलमा कम इकोनोमी रेटमा बलिङ गरे पनि विकेट भने लिन सकेनन्। तर, सन्दीपको टिम सेमिफाइनलमा विजयी हुँदै उपाधि नजिक पुग्यो।
उपाधिका लागि आइतबार भएको खेलमा मेलवर्न डर्बीमा १३ रनले पराजित हुँदै उपाधि जित्ने सपना अधुरै रह्यो। सन्दीपले खेलेका विभिन्न अन्तर्राष्ट्रिय प्रिमियर लिगमध्ये फाइनल पुगेको बिग ब्यास पहिलो खेल हो।
फाइनलमा विकेट नलिए पनि ४ ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिएका थिए। गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्लीबाट खेल्न सुरू गरेका सन्दीपले विश्वका हरेक जसो ठूलो फ्रेन्चाईज लीगमा सहभागीता जनाइसकेका छन्।
अबको उनको पाकिस्तान सुपर लिग हुनेभएको छ। पाकिस्तान सुपर लिग (पीएसएल) अहिले दुबईमा सुरू भइसकेको छ। पीएसएलमा सन्दीपले लाहोर क्वालान्दर्सबाट खेल्नेछन्। उनको टिमले अहिलेसम्म ३ खेलमा एकमा जित र २ खेलमा हार ब्यहोर्दै अंक तालिकाको पुछारमा छ। बिग ब्यासका कारण सन्दीपले लिगका सुरूआती ३ खेल गुमाइसकेका छन्। सन्दीप खेल्ने टिममा एबीडी भिलयर्स, कोरी एण्डर्सन, कार्लोस ब्रेथवेट, यासिर साहजस्ता खेलाडी छन्।
लाहोर क्वालान्दर्सले न्यूनतम् ५० हजार डलरमा सन्दीपलाई खरिद गरेको थियो। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजारदेखि ७० हजार अमेरिकी डलरसम्म हुनेछ।
लाहोर क्वालान्दर्स क्लबमा धनाढ्य कतार लुब्रिक्रेन्ट्स कम्पनी लिमिटेडको स्वामित्व छ। चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखि १७ मार्चसम्म युएई र पाकिस्तानका विभिन्न शहरमा हुनेछ। यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा भयो भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ। डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता छ।



























