किन खराब खेल खेल्दैछ ‘रियल मड्रिड’ ?

4.03K
shares

काठमाडौं । स्पेनिस ला लिगामा बलियो क्लब रियल मड्रिडको जारी सिजन राम्रो हुन सकेको छैन। तालिकामा दोस्रोमा रहने सम्भावना समेत आइतबार राति जिरोनाले डुबाएपछि लिग जित्ने सपना कमजोर बनेको छ।

क्यासेमिरोको २५ औँ मिनेटको गोलमार्फत अग्रता लिएको मड्रिडले २-१ ले खेल गुमाउन पुग्यो। जुन जारी सिजनको सातौं हार थियो, जसले गएको हप्ता दोस्रो स्थानमा रहेको रियल मड्रिड तेस्रो स्थानमा झर्‍यो।

पछिल्लो तीन खेलमा बार्सिलोना, एथ्लेटिको मड्रिड र एजाक्सविरुद्ध बलियो खेल देखाएको रियल मड्रिड कमजोर मानिएको जिरोनासँग नराम्ररी हारेको हो। २४ खेलमा ४५ अंकसहित तेस्रोमा रहेको रियल मड्रिडले अहिलेसम्म १४ खेल जितेको छ । सात खेल हारेको छ भने तीन खेल बराबरी खेलेको छ।

एथ्लेटिको बिल्बाओसँग १-१, भिलारियलसँग २-२ र एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै सेभियासँग ३-०, अलाभेससँग १-०, लेभान्टेसँग २-१, बार्सिलोनासँग ५-१, इबरसँग ३-०, रियल सोसिडाडसँग २-०, जिरोनासँग २-१ ले रियल मड्रिडले हार व्यहोरेको हो।

सेभियासँगको सुरुको हारपछि बार्सिलोनाबाहेक सबै कमजोर आँकलन गरिएका टिमसँग रियल मड्रिड हारेको छ। ला लिगाको जारी सिजन पहिलो भेटमा जिरोनालाई नै ४-१ ले हराएको रियल मड्रिड अहिले कसरी कमजोर बन्यो त ? जुलेन लोपेटेगी कमजोर सावित भएपछि ल्याइएका सान्टियागो सोलारीले पनि सन्तुलन बिगारेका हुन् ? या खेलाडी परिवर्तनको असर देखिएको हो ?

शारीरिक थकान

रियल मड्रिडका खेलाडीको लगातारका खेलले गर्दा जिरोनाविरुद्ध केही कमजोर बनेको आँकलन गरिएको छ। जिरोना लामो समयदेखि आराममा रहेको र आफ्ना केही खेलाडी बाहिर रहेकाले हार भोगेको हुन सक्ने मड्रिडको बुझाइ भए पनि त्यसमा पूर्ण सहमत हुन सकिँदैन।

किनभने जारी सिजन मड्रिड खेलाडीमा कमजोर देखिएको शारीरिक अवस्था जिरोनाविरुद्ध मात्रै होइन। उनीहरुले पहिलो हाफमा खेलेको खेल धेरै हदसम्म स्वीकारयोग्य भए पनि विश्वकै सफल क्लबसँग त्योभन्दा बढी आश हुने गर्दछ। ‘गएको महिनादेखि नै हामी लगातार धेरै खेल खेलिरहेका छौँ, त्यसको असर टिममा देखिएको छ’ हारपछिको कारण बताउँदै लुकास भासकेजले भनेका छन्।

मानसिक अवस्था

पहिलेदेखिका खेललाई हेर्ने हो भने रियल मड्रिड हरेक तीन चरणमा शीर्ष स्थानमा रहन संघर्ष गरिरहेको देखिन्छ। त्यसले गर्दा खेलाडीमा मानसिक थकान आएको देखिन्छ। जसले र्फममा रहन खेलाडीलाई मुस्किल छ।

बार्सिलोना, एथ्लेटिको मड्रिड र एजाक्ससँग खेलेपछि बलियो बन्नुपर्ने रियल मड्रिड झनै कतै हराएको जस्तो देखिनु त्यही कारण हो। विपक्षीमाथिको प्रभाव जमाउन सक्ने कला फर्काएको भनिएको मड्रिड टिम जिरोनालाई बढी नै कमजोर सोच्नुले पनि फस्न पुगेको हो।

खेलाडी परिवर्तनको असर

हरेक खेलमा सबै खेलाडी उही लाइनअपमा खेलाउन मुस्किल हुने भए पनि प्रशिक्षक सोलारीले जिरोनाविरुद्ध गरेका परिवर्तनको नतिजा राम्रो देखिएन। झण्डै आधा जस्तो टिम त फेरिएको थियो।

अल्भारो ओड्रिओजोला, राफेल भाराने, ड्यानी सेबालोस, लुकास भासकेज, मार्को एसेनसियो, मार्सेलो सुरुवाती ११ मा मैदान उत्रिएको खेलमा ड्यानी कार्भाजल, नाचो फर्नान्डेज, सर्जियो रेगुलियन, लुका मोडरिक, ग्यारथ बेल र भिन्सियस जुनियर बाहिर थिए।

खेलमा भएका परिवर्तन

खेल दौरान भासकेजको स्थानमा भिन्सियसलाई, एसेनसियोको स्थानमा ग्यारथ बेल र सेबालोसको स्थानमा मारियानोलाई मैदान छिराएका सोलारीले सन्तुलन मिलाउन भने सकेनन् ।

विशेष त भासकेजको स्थानमा भिन्सियस ल्याएपछि मिडफिल्डको सन्तुलन बिग्रिएको थियो । बेल मैदान आएपछि पनि टिमलाई फाइदा हुन भने सकेन। सेबालोसको स्थानमा मारियानोलाई मैदान ल्याउनु त सोलारीको सबैभन्दा ठूलो कमजोरी देखिएको थियो। मिडफिल्ड कमजोर हुँदा बलमा गुमिरहेको सन्तुलन सेबालोस निस्किएपछि झनै बिग्रिएको थियो।

बेल, एसेनसियो मात्रै होइन लेफ्ट ब्याकमा रहेका मार्सलोको खेल पनि जिरोनाविरुद्ध बलियो हुन सकेन ।

जिरोना र साक्रिस्तानको प्रयोग

जिरोना प्रशिक्षक युसेबियो साक्रिस्तानले रियल मड्रिडविरुद्ध गरेका प्रयोग सफल हुनु नै प्रमुखतः मड्रिड हारको कारण हो। रियल मड्रिड नराम्रो हुनु मात्रै होइन, जिरोना बलियो हुनु पनि जितको आधार हो।

प्रशिक्षक साक्रिस्तानले मध्यान्तरमा गरेका दुई परिवर्तनले जिरोना दोस्रो हाफमा झनै बलियो बनेको थियो। यसैले खेलपछि साक्रिस्तानले भनेका छन्, ‘मलाई लाग्छ रियल मड्रिड दोस्रो गोल गर्नेमा ढुक्क थियो। तर विस्तारै हामी खेलमा फर्कियौँ र अन्त्यमा स्वभाविक नतिजा निकाल्यौँ।’

के भन्छन् प्रशिक्षक सोलारी ?

रियल मड्रिड प्रशिक्षक सोलारीले पहिलो हाफमा आफूहरुको खेल राम्रो भएको भए पनि दोस्रो हाफमा जिरोना बलियो देखिएको बताए ।

‘जिरोना दोस्रो हाफमा बलियो बन्यो र हाम्रा लागि धेरै समस्याहरु सिर्जना गरायो । हामी केही खेलदेखि राम्रोसँग बढीहरेका थियौँ तर जिरोनाविरुद्ध त्यसो हुन सकेन’ उनले भने, ‘हामीले हाम्रो इनर्जीको स्तर बढाउन खोजेका त थियौँ, हामीसँग धेरै राम्रा खेलाडीहरुको समूह छ तर त्यसमा पुग्न सकेनौँ ।’

ला लिगा जित्ने मौका अझै छ त भन्ने प्रश्नमा सोलारीले आफूहरु सधैँ लिग भित्रै रहेको र त्यो अवसर रहेको बताए । ‘जतिसक्दो छिटो राम्रा नतिजाहरुमा हामी बढ्नु पर्छ, प्रतिस्पर्धाबाट हामी अझै बाहिरिसकेका छैनौँ,’ उनले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083