राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै
वि.सं.२०७५ फागुन ७ मंगलवार ११:३४
shares

काठमाडौँ । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ। विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो।
राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उनको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुन्। स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ।
प्रदेश नं ३ र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा यसका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय छन्। फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेसको स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए।
राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ। राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्वीरलगायत सेवा प्रदान गर्दै आएको छ। हाल राससमा १६१ स्थायी दरबन्दी र १५२ स्थानीय समाचारदाता कार्यरत छन्।
केन्द्रीय कार्यालय, भद्रकालीमा आज हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाबाट कर्मचारी एवं पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ। समारोहमा राससबाट गत वर्षका उत्कृष्ट छनोट भएका समाचारदाता, आलेख, श्रव्य र तस्वीर विधामा पुरस्कार प्रदान गरिनेछ।
समारोहमा राससका समाचारदाता प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति’ नामक अनुसन्धानमा आधारित पुस्तक सार्वजनिक गरिनेछ। प्रदेशगतरूपमा छानिएका समाचारदातालाई रासस प्रदेश कार्यालयले आयोजना गर्ने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ। यस वर्षदेखि राससले प्रदेशगतरूपमा पुरस्कार वितरण थालेको हो।




























