यो वर्ष वागश्रेष्ठले जिब्रो छेडेर जात्रा मनाए
वि.सं.२०७५ वैशाख २ आइतवार १४:४२
shares

विस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा
श्याम बहादुर मिजार । विस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आइतबार दिउँसो थिमी बोडे – ८ का ४६ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेड्ने गरिन्छ । यसरी जिब्रो छेडेर महाद्धिप बोकेर टोल टोलमा गई यो जात्रा मनाइन्छ ।
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा देखाइन्छ । आइतबार बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।
जिब्रो छेडेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोल टोल घुमेका वागश्रेष्ठले फेरि भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा राखिएको थियो ।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने श्रेष्ठले बताए ।
परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले बिज्रो छेडेको बताउँदै उनले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका हुन् ।
















