नेकपाको एकता टुंग्याउन कार्यदलले माग्यो थप समय, ‘१ हप्तामा चमत्कार गर्छौं’

4.82K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउने सम्बन्धमा गठित कार्यदलका सदस्यले सचिवालय बैठकमा थप समय माग गरेका छन्। नेकपा सचिवालय र कार्यदलका सदस्यको संयुक्त बैठकमा १ हप्ता म्याद थप्न माग गरिएको कार्यदल सदस्य योगेश भट्टराईले बताए।

बैठकबाट बाहिरिए पछि सदस्य भट्टराईले भने, ‘हामीले काम सम्पन्न गर्नु पर्थ्यो। यति महत्त्वपूर्ण जिम्मेवारी थियो, पार्टी एकताको काम ढिला पनि भइरहेको छ, रिपोर्ट दिइ सक्नुर्थ्यो। विभिन्न कारणले सकेनौं, अब चाहिँ छिटो सम्पन्न गर्नलाई कार्यदललाई १ हप्ता समय दिन सबैले माग गरेका छौं।

सचिवालयले म्याद थपेर दिए पछि कार्यदलले काम अगाडि बढाउने भट्टराईले बताए। ‘सचिवालयबाट समय प्राप्त भयो भने दिइएको जिम्मेवारी सम्बन्धी सबै विषयलाई टुंग्याएर सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेर भनेका छौं, सचिवालयले के निर्णय गर्छ अनि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ,’ उनले भने।

लामो समयसम्म गर्न नसकेको काम १ हप्तामै कसरी हुन्छ भन्ने प्रश्नमा भट्टराईले भने, ‘कहिलेकाहीँ ३ महिनामा नगरेको काम एकै दिनमा पनि हुन्छ। हाम्रो नेपालमा चमत्कार हुने गर्छ नि त! त्यस्तै १ हप्ता भयो भने चामत्कारिक ढंगले काम गरेर रिपोर्ट बुझाउँछौं।

पार्टी एकताका विषय टुंग्याउन गठित कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले सचिवालयमा प्रतिवेदन बुझाएको उनले बताए। कार्यदलले समाधान सहित प्रतिवेदन तयार गर्न नसकेपछि विषय सचिवालयमा पुगेको छ। एकताका विषय टुंग्याउन नेकपा स्थायी कमिटी बैठकले कार्यदल गठन गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083