विधान संशोधन ऐतिहासिक – पत्रकार महासंघ
वि.सं.२०७५ फागुन ११ शनिवार १५:५२
shares

काठमाडौं । नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ। महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ।
विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सभामा प्रस्तुत विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा एकजना महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने गरी संशोधनसहित सर्वसम्मतरुपमा पारित भएको बताए।
नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासङ्घको इतिहासमा बिरलैमध्येको घटना भएकोे भनाइ अध्यक्ष आचार्यले राखे । उनले भने, “पोखराको यस अधिवेशन ऐतिहासिक र नमूनायोग्य भएको छ। साधारणसभाको मूल भावनाअनुसार विधानमा व्यवस्था हुन्छ । अब महासङ्घ आफ्ना मुद्दामा केन्द्रित रहन्छ।
महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले प्रत्यक्ष निर्वाचनको व्यवस्थाले महासङ्घलाई लोकतान्त्रिक पद्दतिमा लगेको बताए। महासङ्घका महासचिव रमेश विष्टले विगतमा केन्द्रीय प्रतिनिधिको राजनीतिले महासङ्घलाई कमजोर बनाएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणमार्फत महासङ्घलाई व्यावसायिक पत्रकारको छाता संस्थाको रुपमा विकास गरिने बताए।
स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले केन्द्रले कास्की शाखालाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न पाउँदा गौरवको अनुभूति भएको बताए। महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रश्ताव पारित गर्दै शुक्रबार साँझ सम्पन्न भएको थियो।




























