नेकपा विप्लवसँग अविलम्ब वार्ता गर्न कांग्रेस उपसभापति गच्छदारको माग

4.6K
shares

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन्।

विगतका घटनाबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए। उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र संघीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे। एक प्रश्नको जवाफमा नेपाली कांग्रेसले संविधानमा धर्मनिरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली कांग्रेसको आधिकारिक धारणा नभएको जानकारी दिँदै उनले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक रहेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083